सुदूरपश्चिममा सवारी दुर्घटना भयावह बन्दै गएको छ । पछिल्लो चार वर्षको आँकडा हेर्दा १ हजार ३ सय १५ सवारी दुर्घटनामा पर्दा ५ सय ६० जनाले ज्यान गुमाएका छन् भने २५ सय ७० जना घाइते वनेका छन् ।
प्रदेश टा«फिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै ६० सवारी दुर्घटनामा पर्दा २६ जनाको मृत्यु र ९२ जना घाइते छन् । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७⁄०७८ मा ५ सय ६२ सवारी दुर्घटना हुँदा १ सय ८७ को मृत्यु १ हजार ९६ जना घाइते भएको देखिएको छ । यस्तै आर्थिक वर्ष २०७८⁄०७९ मा ५ सय १ सवारी दुर्घटनामा १ सय ९६को मृत्यु,१ हजार १ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९⁄०८० मा भने यो सङ्ख्या केही घटेको छ । २ सय ५२ सवारी दुर्घटना हुँदा १ सय ७७ जनाको ज्यान भएको छ भने ४ सय ७३ जना घाइते छन् ।
तीव्र गति, चालकको लापरबाही,यात्रुको गल्ती,यान्त्रिक समस्या र मादक पदार्थ सेवन गरी सवारी चलाउनु लगायतका कारणले सवारी दुर्घटना भइरहेको प्रदेश टा«फिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीले बताए । ‘सवारी दुर्घटना न्यूनीकरणका लागी हामीले जनचेतनामूलक कार्यक्रमहरू गरीरहेकाछौँ। हाम्रो प्रयासले मात्र नहुने भयो । यसका लागी चालक,यात्रु र सर्वसाधारणहरूले विशेष सजगता अपनाउन जरुरी छ,’प्रहरी उपरीक्षक गिरीले भने ।
उनका अनुसार टा«फिक प्रहरीले तीन वर्षको अवधिमा ७ हजार २८ पटक जनचेतनामूलक कार्यक्रम गर्दा ४ लाख ९ हजार १ सय ९६ नागरिक लाभान्वित वनेका छन् ।
नियम उल्लङ्घन बढ्दो,राजश्वमा उल्लेख्य सुधार
सवारी चालकहरूले टा«फिक नियमको उल्लङ्घन गर्ने क्रम पनि बढ्दै गएको छ । पछिल्लो चार वर्षकै अवधिमा ३ लाख ५८ हजार ८ सय ९२ सवारी कारबाहीमा पर्दा १९ अर्ब ७५ लाख ३० हजार,५ सय राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै १३ हजार ८ सय ८८ सवारी कारबाहीमा पर्दा ८९ लाख ७५ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७९⁄०८० मा १ लाख १२ हजार ६ सय ५५ सवारी कारवाहीबाट ६ अर्ब ४३ करोड ७० हजार राजश्व सङ्कलन भएको छ । यस्तै आर्थिक वर्ष २०७८⁄०७९ मा ९६ हजार १ सय ७ सवारी कारवाहीबाट ५ अर्ब ४१ करोड ९४ हजार,आ।व।२०७७⁄०७८ ७९ हजार ८९ सवारी कारवाहीबाट ४ करोड ५७ लाख ६७ हजार र आर्थिक वर्ष २०७६⁄०७७ मा ५६ हजार १ सय ५३ सवारी कारबाही हुँदा ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व सङ्कलन भएको टा«फिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तो छ चाडपर्व लक्षित सुरक्षा योजना
सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन कार्ययोजना लागू भएको छ । प्रदेशका नाका तथा बसपार्क लगायतका भिडभाड हुने क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ । विशेष गरी मजदुरी गर्न भारत गएकाहरू घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो । देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरू जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ । यात्रुको सङ्ख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुन्छ ।
‘दसैँ, तिहार र छठ पर्वलाई लक्षित कार्य योजनामा तयार गरेका छौँ।े दुर्घटना न्यूनीकरणमा हामीले विशेष ध्यान दिन्छौँ । सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले मादक पदार्थ सेवन गर्ने, सवारीको अवस्था चेकजाँच नहुने लगायतका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको छ,’प्रहरी उपरीक्षक गिरीले भने,‘दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेशभर सहायता कक्ष स्थापना गरी व्यवस्थापन गरीरहेकाछौँ।’
सबै जिल्लामा ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । मापसे गरी सार्वजनिक यातायात चलाउने चालकलाई मुद्दा चलाइने,टाइम कार्डमा कडाइ,सादा पोसाकमा खटिएका प्रहरी तथा यातायात प्रा।लीहरु सँग समन्वय गरिने प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा टा«फिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गर्न लागेको हो ।
ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरको सहकार्यमा यान्त्रिक अवस्था जाँच भइरहेको छ । यात्रुसँग एक मिनेट कार्यक्रम लागू गरेको ट्राफिकले बेला बेला मापसेसमेत चेक गर्ने गरेको छ । लामो दुरीमा दुई चालक राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विषयमा समेत कडाइ भइरहेको गिरीको दाबी छ ।