धनगढी- दार्चुलामा डेंगी संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। महाकाली नगरपालिका–९ की १४ वर्षीया किशोरी जेलिना चैसिरको मृत्यु भएको हो।
जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि उनलाई भारतको हलद्वानी लगिएको थियो। उनको उपचार क्रममा शनिबार हलद्वानीमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
विगतमा तराईका जिल्लामा मात्रै देखिने डेंगी पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्लाहरूमा समेत देखा पर्न थालेको छ। जसकारण हिमाली क्षेत्रमा बसोवास गर्नेहरू संक्रमित बन्न थालेका छन्। दार्चुलामा पछिल्लो १० महिनाको अवधिमा १९० जना डेंगी संक्रमित भएका छन्।
चालू आर्थिक वर्ष सुरू भएयता साउनदेखि २१ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जानकारी दिएको छ। जिल्लाको उच्च हिमाली क्षेत्र व्यासमा पछिल्लो समय डेंगी सार्ने लामखुट्टे समेत फेला परेको छ। उक्त लामखुट्टेबारे महेन्द्रनगरमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।