गँड्यौली मलको परिचयः गँड्यौली मल (भर्मि कम्पोष्ट) भनेको विशेष प्रजातिका गड्यौलाको प्रयोग गरी प्राङ्गारिक फोहोरबाट बनाइएको गुणस्तर र पौष्टिक तत्वयुक्त कम्पोष्ट मल हो । गँड्यौलाको प्रयोग गरी मल बनाउने प्रविधिलाई भर्मिकल्चर (Vermiculture) भनिन्छ । कृत्रिम तरिकाले गँड्यौलाको उत्पादन गरी आफ्नै वरपर रहेका साग तरकारी, घाँसपात र फलफूल आदिको खेर गएको भागहरु वा फोहोर प्रयोग गरी वातावरणीय, आर्थिक र सामाजिक तवरले एउटा महत्वपूर्ण कम्पोष्ट मल उत्पादन गर्ने विधिको रूपमा भर्मिकल्चरलाई अवलम्बन गर्न सकिन्छ । सहरी क्षेत्र, प्रशोधन केन्द्र र गाँउघरबाट निस्किएको काम नलाग्ने तर सड्न सक्ने किसिमका फोहोरमैलालाई भर्मिकल्चरको प्रविधि अपनाएर व्यवस्थापन गर्न सके बढ्दो रासायनिक मलखाद तथा किटनाशक विषादीको प्रयोगले निम्ताएको चुनौतीलाई सामना गर्न सहज हुने देखिन्छ । विभिन्न प्रजातीका गँड्यौलाहरूलाई पालन गरेर तथा तिनलार्इ विभिन्न किसिमका प्रांगारिक खानेकुराहरू खुवाएर तिनिहरु बाट निस्केको दानादार दिसा र प्रयोग भर्इ कुहिएको खाद्य सामाग्रीहरूको मललाई गँड्यौली मलको रुपमा उपयोगमा ल्याइन्छ । यो मल पानीमा सजिलै घुल्न सक्ने हुन्छ र यसमा माटोको सुधार गर्नसक्ने गुणहरु भएका खाद्य/पोषकतत्वहरू प्रशस्त पाइन्छन । गँड्यौली मलको उपयोगले दीगो प्रांगारिक खेतीको विकास गर्न सकिन्छ । गँड्यौली मल बनाउन विभिन्न प्रजातीका राता, सेता, निला रंगका गँड्यौलाहरूको प्रयोग गरिन्छ । गँड्यौली मलमा बाली/विरुवाको विभिन्न रोगहरु संग लड्न सक्ने क्षमता बढाउने गुणका साथै तिनको छिटो बृद्धी विकास गराउन सक्ने इन्जाइमहरू भएको पाइएको छ । Dainiki Online Vermicompost गड्यौली मलका फाईदाहरुः
-
साधारण तरिकाले बनाएको कम्पोष्ट मलमा भन्दा यो मलमा मुख्य खाद्य/पोषकतत्वहरूको मात्रा बढी (२-३% नाइट्रोजन, १.५५-२.२५% फस्फोरस र१.८५-२.२५% पोटास) हुनुका साथै सुक्ष्मतत्वहरू, भिटामिन, हर्मोन, एन्टीबायोटिक र इन्जाइम आदि बालीनालीलाई उपलब्ध हुन्छन् ।
-
माटोको रासायनिक तथा भौतिक गुणहरूमा सुधार आर्इ त्यसको उर्बराशक्तिमा बृद्धि हुन्छ ।
-
विभिन्न बालीको बीउको उमार शक्ति बढाउनुका साथै माटोको अम्लिएपन मा पनि सुधार ल्याउँछ ।
-
यो मल प्रयोग गर्दा माटोमा हानीकारक कीराहरूको संख्या कम गर्नुका साथै रोग ल्याउने जीवाणुहरूको संख्या घटाउनमा पनि मद्दत पुग्दछ ।
-
गँड्यौली मल बनाउदा अन्य साधारण कम्पोष्ट मलमा जस्तो खाल्टोमा धेरै ओर्काइ फर्काइ गरिरहनु पर्दैन जसको कारण कम ज्यामिको प्रयोगले सस्तोमा राम्रो र गुणस्तरिय मल तयार हुन्छ ।
-
यो मल कालो, गन्ध नआउने र बुरबुराउँदो हुन्छ तथा यसमा उपयोगी/लाभदायक जिवाणुहरूको संख्या बढी हुन्छ ।
-
साधारण तरिकाले बनाएको कम्पोष्ट मल भन्दा यो मल थोरै प्रयोग गर्न सकिन्छ अर्थात थोरै भए पनि पुग्छ।
-
खेतीबारीको र घरेलु फोहर वस्तुहरूबाट यो मल बनाइने हुँदा फोहर व्यवस्थापनका साथै वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्दछ ।
-
यो मलमा गड्यौलाको अण्डा पनि हुने भएकोले माटोमा गड्यौलाको क्रियाकलाप तथा संख्या बढाउँछ ।
-
यो मलमा पानी अड्याउने शक्ति बढी हुने गर्दा यसको प्रयोगले भू-क्षय कम हुन्छ ।
-
गँड्यौलालाई राम्ररी पखाली सुकाएर माछाको दानामा मिसाएर खुवाउनुका साथै बढी उत्पादन भएमा हाँस र कुखुरा आदिको आहारा बनाउन पनि सकिन्छ ।
-
यसलाई पानीमा मिसाएर घोल बनार्इ बोटविरुवाहरुको जराको वरिपरी प्रयोग गर्न सकिन्छ, जसलाई “वर्म टी” भनिन्छ ।
प्रयोग गरिने गँड्यौलाका प्रजातीहरुः एण्डोजेईक प्रकारका गँड्यौलाहरु जमिनको भित्रि भागमा पाइने र माटो मात्र खाने हुँदा यी प्रजातीलार्इ गँड्यौला मल बनाउन प्रयोग गरिदैन । इपिजेइक प्रकारका गँड्यौला जमिनको सतहमा बस्ने र जैविक पदार्थ मात्र खाने हुनाले गँड्यौला मलको लागि यही प्रजातीको गँड्यौला प्रयोग गर्ने गरिन्छ । त्यसैले अचेल कृत्रिम रुपमा गँड्यौला पालेर कम्पोष्ट मल बनाउन (भर्मिकल्चर) को लागि प्रयोग हुने गँड्यौलाहरु निम्न प्रकारका रहेका छन् ।
-
इसेनिया फोइटिडा
-
युड्रिलस युजिनियल
-
पेरियोटक्स एक्स्याभेट
-
लुव्रिकस रेवेलस
-
ल्यामपिटो म्याउरिटी
इसेनिया फोइटिडा ( Eisenia foetida) भर्मिकल्चरको लागि सबैभन्दा राम्रो खालको गडयौला मानिन्छ । यस प्रजातीको गँड्यौलाहरु अरु प्रजातीको गँड्यौलाको भन्दा खानेकुराहरु छिटो खाने, पचाउने क्षमता बढी भएको र छिटो कम्पोष्ट मल उत्पादन गर्ने भएकोले भर्मिकल्चरमा यसको प्रयोग बढी हुने गरेको छ । मल बनाउन चाहिने आवश्यक बस्तुहरुः
-
आँशिक कुहेको प्राङ्गारिक पदार्थ
-
गोठेमल
-
माटो, पानी र जुटको बोरा
-
बीउको रुपमा गँड्यौला
-
गँड्यौला पाल्ने उपयुक्त भाँडो/सिमेन्ट वा वाटर प्रुफ बेड
-
ओछ्यानको लागि काठको धुलो, कागज वा पुरानो कपडा
गड्यौली मल बनाउने विभिन्न बिधिहरु :
-
थुप्रो पारेर:
-
यसको लागि सुख्खा तथा पानी नजम्ने हावादार छहारी भएको ठाउँ प्रयोग गर्न सकिन्छ ।
-
१ टन अर्थात १० कुन्टल कम्पोष्ट मल बनाउन राखिएका वस्तुहरू, जस्तै गोबर (३ भाग), झारपात (१ भाग) तथा पराल र छ्वाली (१ भाग) राम्ररी पानीले भिजाएर थुप्रो बनाउनुपर्छ । यसरी गड्यौलाको लागि ओछ्यान/बेड बनाउन विभिन्न किसिमका प्रांगारिक पदार्थहरुलाई मिलाएर राख्ने कार्यलार्इ बेडिङ्ग भनिन्छ ।
-
यस्तो थुप्रोमा केही दिनपछि तापक्रम ६०-६५ डि.से. सम्म पुग्दछ र कम्पोष्ट मल बनाउन राखिएका वस्तुहरू गलेर नरम अन्तमा यसमा रहेका सबै अनावश्यक जीवाणुहरू र कीराहरू मर्दछन र कम्पोष्टको थुप्रो पनि बिस्तारै सेलाएर जान्छ।
-
त्यसपछि थुप्रोमा २०० वटा गँड्यौला प्रति क्युविक फिट (१ फुट लम्बार्इ, १ फुट चौडार्इ र १ फुट उचार्इ) को खाडल/बेडका दरले राख्नुपर्छ ।
-
गँड्यौलाहरुले उपलब्ध गराइएको प्रांगारिक पदार्थहरू खाएर ४५-६० दिनमा आफ्नो संख्या बढाएर प्रति क्युविक फिट ६०० वटा पुर्याउंछन र त्यति नै दिनमा गड्यौली कम्पोष्ट मल तयार हुन्छ ।
-
खाडल खनेर:
-
१० फिट लम्बाई, ६ फिट चौडाई र २ फिट गहिराइको खाडल खनेर ५०% गाईवस्तुको मल तथा बाँकी ५०% भागको लागि झारपात, पराल र छ्वाली मिलाइ खुकुलो पारेर गड्यौलाको ओछ्यान अर्थात बेड बनाउनुपर्छ ।
-
यस्तो बेडमा २०० वटा गड्यौला प्रति क्युविक फिटको दरले माथी थुप्रो/हिप बिधिमा उल्लेख गरे अनुसार राख्दै जानुपर्छ ।
-
गँड्यौलाहरु माटो मुनि बस्ने भएकोले बेडको उचाई २ फिट भन्दा बढी भयो भने हावाको आवत जावतमा बाधा पुगि गड्यौलाहरु निस्सासिन्छन्, तर लम्बाई र चौडाई चाहिं बेडिङ्गको लागि प्रयोग भएको सामानहरू अनुसार बढाउन वा घटाउन सकिन्छ ।
-
टंकी बनाएर:
-
१० फिट लम्बाई, ६ फिट चौडाई र २-३ फिट उचाईको खाडलको पिधँमा इँट्टा तथा ढुङ्गा राखेर पक्की टंकी बनाएर त्यसको पिँधमा गलेको गोबर हाल्ने र त्यसको माथि अलिकति गलेकै कम्पोष्ट बनाउन राखिएको वस्तुहरू राख्नुपर्छ ।
-
अब यसमा २०० वटा (औषतमा २५० ग्राम) गँड्यौलाहरु प्रति क्युविक फिटको दरले वा २-३ के.जी. गँड्यौला प्रति टन अर्थात १० कुन्टल प्रांगारिक पदार्थको दरले छोडिदिनुपर्छ ।
-
चराचुरुंगीबाट गड्यौलाहरुलाई जोगाउन तारको जाली वा बाँसको जालीले माथिबाट छोप्नुपर्छ । चिस्यान ६०-७० प्रतिशत सम्म कायम राख्नुपर्छ र यसको लागि दिनदिनै पानी छर्कनुपर्छ ।
-
कम्पोष्ट मल बनाउन राखिएको वस्तुहरू ९०% सम्म कुहिएपछि पानी छर्कन बन्द गर्नुपर्छ ।
-
त्यसपछि कम्पोष्ट मललाई तह तहमा निकाली एक ठाउँमा थुपारी गँड्यौलाहरुलाई छुट्याउनुपर्छ । गँड्यौलाहरुलाई चाल्नीमा चालेर पनि छुट्याउन सकिन्छ ।
-
यसरी छुट्याइएका गँड्यौलाहरुलाई फेरी अर्को बेडिङ्ग सामाग्री भएको टंकीमा राख्ने ।
-
चालेर आएको कम्पोष्ट मललाई केही क्षण फिजाएर सुख्खा पार्ने र १ के. जी. को दरले प्लाष्टिकको झोलामा राखी प्याकिंग गर्ने तथा आवश्यक्ता अनुसार प्रयोग गर्ने वा बिक्री गर्ने ।
थुप्रो पारेर खाल्डो खनेर टंकी बनाएर गँड्यौली मल उत्पादन गर्ने विधि/प्रक्रिया (बिस्तृतमा): स्थान छनौट:
-
गँड्यौलाहरुलाई घरभित्र वा खुल्ला ठाउँ दुवैमा पाल्न सकिन्छ । घरभित्र गँड्यौलाहरु पाल्दा कुनै पनि भाँडा जस्तै काठको बाकस, बाँसको टोकरी, बाटा, सिमेन्टको टप, डालो आदि प्रयोग गर्न सकिन्छ ।
-
गँड्यौला पाल्ने भाँडाहरु विभिन्न आकार प्रकार र क्षमताको भएतापनि तिनको चौडाई र उचाई १-१ फिट भएको र पिँधमा पानी चुहिने व्यवस्था भएको हुनुपर्दछ ।
-
घर बाहिर खुल्ला ठाउँमा गँड्यौलाहरु पाल्दा छायाँ भएको वा छानाको व्यवस्था भएको/गर्न सकिने ठाउँको प्रयोग गर्नु पर्दछ ।
-
व्यावसायिक रुपमा गँड्यौलाहरुले कम्पोष्ट मल उत्पादन गर्न पानीको निकास भएको करीब ३ फिट लम्बाई, २ फिट चौडाई र १.५ फिट उचाईको ट्याङ्कीको व्यवस्था गर्नुपर्दछ ।
टहरा निर्माण तथा ओछ्यान/बेडको व्यवस्था:
-
सामान्यतया ८ मिटर लम्बाई ५.५ मिटर चौडाई भएको टहरा निर्माण गर्नुपर्दछ । बेडको लम्बाई ७ मिटर, चौडाई १ मिटर र उचाई ०.५ मिटर भएको बनाउँदा ७-८ वटा बेड अटाउँदछ । यस्तो बेडको लागि प्रति बेड १५ किलोग्राम गँड्यौला को आवश्यकता पर्दछ जसबाट प्रति बेड ३५ क्विन्टल जति काँचो मल उत्पादन गर्न सकिन्छ ।
-
३-४ ईन्च जती बाक्लो जुट, पराल, नरिवलको जटा, सुतीको कपडा, काठको धुलो जस्ता वस्तुको प्रयोग गरी नरम ओछ्यान वा सोत्तरको व्यवस्था गर्नुपर्दछ ।
गोबर⁄पुरानो मलको प्रयोग: गोबर शिशु गँड्यौलाहरुको आहारा हुने र पुरानो मलमा भएको सुक्ष्म जिवाणुहरुले फोहरलाई छिटो कुहाउन मद्धत गर्ने हुँदा गोवर अथवा पुरानो मल २-३ मुठी ओछ्यान माथी छर्की दिनुपर्दछ । चिस्यान बनाउने/कायम राख्ने: ओछ्यान वा सोत्तर र गोबरलाई पानीले राम्ररी भिजाउनु पर्दछ । सुख्खा वा बढी पानी भएको ठाउँमा गँड्यौलाहरु बाँच्न सक्दैनन । गँड्यौलाहरुले आफ्नो छालाबाट साँस फेर्ने हुनाले बढी पानी भएमा तिनिहरु पानीमा डुबेर मर्न सक्ने तथा बढी सुख्खा भएमा पनि सुकेर मर्न सक्छन, किनकी गँड्यौलाहरुको शरीरमा लगभग ८०% भाग पानी हुन्छ । जैविक फोहर राख्नेः
-
यसरी बनाईएको ओछ्यान वा सोत्तरमाथि एक हात उचाईसम्म जैविक फोहर हाल्नु पर्दछ ।
-
बढी फोहर हाल्दा फोहर कुहिने क्रममा तापक्रम बढ्न गई गँड्यौलाहरु उक्त मलमा जान सक्दैनन र मल बन्न ढिलो हुन्छ ।
-
गँड्यौलाको लागि जैविक फोहर हाल्नुभन्दा पहिले फोहरलाई केही दिन त्यसै बाहिर राखि अलिकति कुहाउने र पानीको मात्रा कम हुन दिई प्रयोग गर्दा गँड्यौलाहरु मर्ने खतरा कम हुन्छ ।
-
सबैभन्दा राम्रो जैविक फोहरलाई २ हप्ता जती कुहाएर फोहर गँड्यौलालाई प्रयोग गर्दा राम्रो हुन्छ ।
उपयुक्त प्रजातीको गँड्यौला छोड्ने : गँड्यौली कम्पोष्ट मल बनाउनका लागि इसेनिया फोइटिडा (Eisenia foetida) प्रजातीको गँड्यौला नै सबैभन्दा बढी प्रयोग हुन्छ । किनकी यस प्रजातीका गँड्यौलाहरुले अन्य प्रजातीको गड्यौलाहरुको भन्दा खानेकुराहरु छिटो खाएर तथा पचाएर कम्पोष्ट मल पनि छिटो उत्पादन गर्न सक्दछन । सामान्यतया यिनिहरु २-३ र्इन्च लामा र मसिना तथा रातो वा फुस्रो पहेंलो रंगका र शान्त स्वभावका हुन्छन् । १० फिट लम्बाई, २ फिट चौडार्इ र १.५ फिट (१ हात) उचाई भएको एउटा भर्मि कम्पोष्टको बेडमा औषतमा ४००-५०० किलो फोहर/प्रंगारिक पदार्थहरु अट्छ । उक्त फोहर/प्रंगारिक पदार्थहरुलाई ४०-५० दिन सम्म गँड्यौलाहरुलाई खुवाएर चांडो मल तयार पार्नु छ भने करिब ५ किलो गँड्यौला चाहिन्छ । थोरै गँड्यौला भयो भने मल बन्न समय लाग्छ र धेरै गड्यौला भयो भने विशेष केही फाईदा हुँदैन, बरु खर्च बढ्छ । छोप्नेव्यवस्था मिलाउने:
-
गँड्यौलाहरु राखि सकेपछि जुटको बोरा वा परालले छोप्नु पर्दछ ।
-
त्यसपछि मसिनो गरी काटेको जैविक फोहरले करिब ४ इन्च बाक्लो गरी छोपी दिनुपर्दछ ।
-
गँड्यौलाहरुले खाने काम बेड/ओछ्यानमा गर्दछन् भने काष्टिङ्ग (दिसा गर्ने कार्य) बेडको माथिल्लो सतहमा आएर गर्दछन ।
-
गँड्यौलाहरु अध्याँरोमा मात्र बस्ने हुँदा प्रकाश छिरेमा वा उज्यालो भएमा बाहिर नआउने हुनाले भर्मिकल्चर गरेको भाँडा छोपीदिनु पर्दछ । यसो गर्दा गँड्यौलाहरु त्यही फोहरमा रहेर लगातार खान पाउँछन र माथी आएर मल उत्पादन गर्दछन । अनुसन्धानको नतिजाअनुसार २.९ किलो जैविक फोहरबाट औषतमा १ किलो गँड्यौली मल उत्पादन हुन्छ ।
गड्यौली मल तयार भएको थाहा पाउने तरिका:
-
कालो बुर्बराउँदो भएमा ।
-
चियापत्ती जस्तो धुलो भएमा ।
-
खानेकुराहरुको रेसा नभएमा ।
-
बोरा वा झोलामा मल हाल्दा/कोच्दा तापमान बढेर तातो हुने अवस्था नभएमा ।
-
मलमा तोरीको गेडा छर्दा १ हप्तामा टुसा पलाउने भएमा ।
गँड्यौली मल संकलन गर्ने तरिका: सामान्यतया गँड्यौला पालेको ३-४ महिना पछि यस्तो मल संकलन गर्न सकिन्छ । भर्खर निकालेको मल कालो, चिप्लो खालको र सानो पोतेको दाना जस्तो देखिन्छ । गँड्यौली मल निम्न दुई तरिकाले संकलन गर्न सकिन्छः
-
घोप्ट्याउने र छुट्याउने तरिकाः मल संकलन गर्ने बेला सबैभन्दा पहिले ढकनी हटाएर खानेकुरा सबै झिकिसकेपछि प्लाष्टिक वा कपडा वा कागज केही बेर ओछ्याई त्यस माथि भाँडामा भएको गँड्यौला सहितको मल घोप्ट्याउने र त्यसमा चुली पारेर थुपार्नु पर्दछ । थुप्रोमा ५ मिनट जति प्रकाश त्यसै छोड्ने जसले गर्दा गँड्यौलाहरु तल्लो भागमा जम्मा हुन्छन् । मललार्इ माथिबाट अञ्जुलीले झिकेर एउटा भाडामा राख्ने । यसरी मल मात्र झिकी सकेपछि फेरी उक्त गँड्यौलाहरुको पालन गर्न सकिन्छ ।
-
गँड्यौला आफै छुट्टिने तरिकाः ढकनी हटाएर सतहको खानेकुरा सबै झिकेर गँड्यौला सहितको मल भाँडाको एक छेउबाट सारेर अर्कोतिर थुपार्ने र बाँकी भाग खाली गर्नुपर्दछ । खाली ठाउँमा पुरानो वा नयाँ ओछ्यान राखेर त्यसमाथि गोबर र जैविक फोहर मिसाई एक हात उचाईसम्म राख्नु पर्दछ । पुरानो थुप्रोमा खानेकुरा नपाएर गँड्यौलाहरु आफै नयाँ थुप्रोतिर आँउदछन।१०-१५ दिनमा पुरानो थुप्रोतिर मल बाँकी रहन्छ।त्यसपछि मल झिकेर गँड्यौलाको फुल (कोकोन) बाट बच्चा निकाल्न अर्को भाँडामा संकलन गर्नुपर्दछ । मल तयार भएको १-२ महिनापछि मात्र प्रयोग गरेमा गँड्यौलाको काकोनहरुबाट बच्चा गँड्यौलाहरु संकलन गरी फाईदा लिन सकिन्छ ।
मलबाट गड्यौलाको बच्चा निकाल्ने तरिकाः गँड्यौलाको मलसँग थुप्रै गँड्यौलाहरु र कोकोनहरु हुने हुँदा मल तुरुन्तै प्रयोग गर्नु हुँदैन किनकी यस प्रविधिमा गँड्यौलाहरुको उत्पादन र वृद्धि गर्न उत्तिकै आवश्यक भएकोले संकलित मललाई एउटा अलग भाँडामा राख्नुपर्दछ । ४-६ हप्ताभित्र कोकोनबाट बच्चा गड्यौला निस्कन थाल्दछ र शिशु गँड्यौलाहरु ठूला भइसकेपछि गँड्यौलाहरुलाई छानेर मल प्रयोग गर्न सकिन्छ । घरेलु स्तरमा गँड्यौलाको मल बनाउने तरिकाः
-
घरेलु स्तरमा गँड्यौला पाल्न काठको बाकस, बाटा, डाला, बाल्टिन उपयुक्त हुन्छ तर ती वस्तुहरूमा पानीको निकास हुन अनिवार्य हुन्छ ।
-
गँड्यौलाको ओछ्यानको लागि पिँधमा नरिवलका जटा, पराल, छ्वाली वा कागजको टुक्रा जस्ता हलुका खस्रो पदार्थहरुलाई राम्रोसँग भिजाएर करिब २ इन्च जति बाक्लो ओछ्यान तयार गर्नु पर्दछ र त्यसमाथि माटो, कम्पोष्ट वा काठको धुलो राख्नुपर्दछ ।
-
१ वर्गमिटर क्षेत्रफल भएको बाकसमा करिब २००० को संख्यामा कम्पोष्ट बनाउने बिशेष प्रकारको गँड्यौलाहरु राख्नुपर्दछ ।
-
बिस्तारै ओछ्यानको रूपमा प्रयोग गरिएका वस्तुहरू गल्दै जान्छन र त्यसमाथि करिब १ इन्च जति वाक्लो हुने गरी सुकेको गोबरलाई पानीमा भिजाएर राख्नु पर्दछ, जसले गर्दा गड्यौलाहरु र तिनका बच्चाहरू चाँडै नै हुर्कन सक्दछन तथा मल पनि चाँडै तयार हुन्छ ।
-
ओछ्यान माथि घरको भान्छाबाट निस्कने बासी खानेकुराहरू, तरकारी, फलफूल आदिलाईस-साना टुक्रा बनाई गँड्यौलाको खानाकोरूपमा राखिन्छ।खानेकुरा राखिसकेपछि भाँडालाई सँधै भिजेको बोरा या कपडालेछोपी राख्नुपर्ने हुन्छ ।
-
यसरी गँड्यौला पाल्न सुरु गरेको ३-४ महिनामा गँड्यौली मल तयार हुन्छ । संकलित मलमा थोरै मात्रामा गोबरको झोल राखी २-३ हप्तासम्म ओसिलो ठाउँमा राख्नुपर्दछ । त्यसपछि गँड्यौला छुट्याएर मललाई विरुवामा प्रयोग गर्नसकिन्छ ।
गड्यौला पालन गर्दा ध्यान दिनुपर्ने कुराहरु :
-
अमिलो जातको फलफूलराख्नु हुँदैन ।
-
कमिला (रातो कमिला) गड्यौलाको शत्रु भएकोले भरसक गुलियो खानेकुरा राख्नु हुँदैन ।
-
मासुरमाछाजन्य खानेकुरा वा तिनबाट निस्केको फोहर प्रयोग गर्नु हुँदैन ।
-
तेलजन्य खानेकुरा राख्नु हुँदैन ।
-
फोहर फाल्दा सकेसम्म टुक्राएर वा काटेर प्रयोग गर्नु पर्दछ ।
-
गँड्यौलाहरु धेरै सुख्खा वा धेरै चिस्यान भएको ठाउँमा वस्न नसक्ने भएकोले सकेसम्म ओसिलो हुने गरी फोहर राख्नु पर्दछ ।
-
गँड्यौलाहरु १०-३२ डि. से. भएको तापक्रममा मात्र वस्न सक्ने भएकोले तामक्रम व्यवस्थापनमा विशेष ख्याल राख्नु पर्दछ ।
-
मुसा, छेपारो, कमिला, पाल्तु जनावरहरुबाट गँड्यौलाहरुलाई बचाउनु पर्दछ ।
-
गँड्यौलाहरु २०-६०% ओसिलोपना भएको ठाउँमा बस्न मन पराउँछन ।
-
कम्पोष्ट तयार पार्न राखिएका वस्तुहरू लचक्क भिजेको हुनु पर्दछ तथा हातले मुठी पारी निचोर्दा ३-४ थोपा जती पानी झर्नेहुनुपर्छ ।
-
गोबरमल तथा हरियो घाँसपात प्रयोग गर्दा १०-१५ दिन कुहिन दिएर प्रयोग गर्नुपर्दछ ।
-
आधि (०.५) वर्ग मिटरको सामग्रीको लागि २ मुठी माटो राख्नु राम्रो हुन्छ ।
-
कम्पोष्ट थुप्रोको तापक्रम १५-२७ डि. से. को बीचमा हुनुपर्छ र कम्पोष्ट बनाउने ठाउँमा घामपानी नपर्ने व्यवस्था मिलाउनुपर्दछ ।
गड्यौली मल (भर्मिकम्पोष्ट) को प्रयोग र सिफारिसः
-
भर्मिकम्पोष्ट बाली अनुसार प्रति हेक्टर अर्थात १.५ बिगाहा वा २० रोपनिमा १-१० टन (१०-१०० कुन्टल) को दरले प्रयोग गर्न सिफारिस गरिएको छ ।
-
यो मल फलफूल, तरकारी, अन्नबाली, कोशेबाली, घाँसेबाली,पुष्पबाली आदिसबै किसिमको बालीहरुको लागि प्रयोग गर्न सकिन्छ ।
-
तरकारीबालीको बेर्नाहरु उमार्न र सार्नलाई भर्मिकम्पोष्ट १ टन प्रति हेक्टरको दरमा प्रयोग
-
पुष्पबाली (फूल एवं आलंकारिक विरुवाहरूको) लागि भर्मिकम्पोष्ट ७५०-१००० के.जी. प्रति हेक्टरको दरले प्रयोग गर्न सकिन्छ ।
फलफूलबालीहरुको लागि भर्मिकम्पोष्ट ५-१० के.जी. प्रति बोट प्रयोग गर्न सकिन्छ । बोटको वरिपरि १५-१८ से.मी. गहिरो एउटा घेरा बनाएर त्यसमा सुकेको गोबर मल र २-३ के.जी. भर्मिकम्पोष्टमिसाएर राख्नुपर्छ र त्यसको माथि माटोले छोपेर त्यसमा पानी छर्कनु पर्दछ । लेखक : राजेन्द्र बम,कृषी विज्ञ