सरकारले विभिन्न ३ प्रदेशका प्रदेश प्रमुखहरू परिवर्तन गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । नयाँ प्रदेश प्रमुखहरुमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।
सरकारले सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई नियुक्त गर्नका लागि सिफारिस गरेको हो ।
हाल सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहेका गंगाप्रसाद यादवलाई ओली सरकारले ०७८ वैशाखमा प्रदेश प्रमुखका रुपमा पठाएको थियो ।
त्यसअघि २०७४ माघ ३ गते तत्कालीन देउवा सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरेको थियो ।
तर २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले मल्ललाई पदमुक्त गरेर शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो । ओली सरकारले नै ०७८ वैशाखमा त्रिपाठीलाई पदमुक्त गरेका थिए ।