२०६० फागुन २३ गते बाजुराको कुल्देवमाडौंस्थित मौरेबाट ताराचन्द्र रेग्मी तत्कालीन विद्रोही माओवादीको अपहरणमा परे । अपहरणमा परेको केही समयपछि अर्थात् चैत १२ गते उनको हत्या भयो । चन्दा नदिएको र कोल्टीमा सेना राख्न लगाएकोलगायत आरोपमा माओवादीले रेग्मीको हत्या गरेको थियो । ताराचन्द्र ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागिर छाडेर २०५४ सालमा कोल्टी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष भएको ६ वर्षपछि माओवादीले उनको गरे ।
ताराचन्द्रको अपहरणपछि हत्या हुँदा छोरी सृष्टि नेपालगन्जको ड्रिम ल्याण्ड स्कुलमा कक्षा चारमा पढ्दै थिइन् । प्रिन्सिपलले सृष्टिलाई बुवाको हत्याबारे जानकारी गराएका थिए । बुवाको हत्या भएको खबरले उनको बालमस्तिष्क नराम्ररी विक्षिप्त भयो । उनी अहिले भन्छिन्, ‘अपहरण भएपछि बुवाले एउटा चिठी पठाउनु भएको घुर्मैलो याद छ । चिठीमा चाँडै फर्कन्छु भनेर लेख्नुभएको थियो । तर उहाँ त्यसपछि कहिल्यै फर्कनु भएन ।’
बुवाको हत्या भएको घटनाले सृष्टिलाई विक्षिप्त मात्रै बनाएन, एउटा गहिरो छाप छाड्यो संकल्पसहितको । अलि बुझ्ने भएपछि उनले एउटा दृढ संकल्प गरिन्– गाविस अध्यक्ष हुँदा बुवाले गर्न चाहेर पनि नपाउनुभएका केही सुन्दर काम गरेर बुवाको सपना साकार पार्ने । त्यहीं संकल्पको परिणामस्वरुप बुवाको हत्या भएको करिब १४ वर्षपछि सृष्टि बाजुराको बूढीनन्दा नगरपालिकाको उपमेयर भएकी छन् । र, इन्जिनियरिङ पेसा छाडेर उपमेयर भएकी उनले सकेसम्म सुन्दर काम गर्ने प्रयास गरिरहेकी छन्, नगरबासीको मन जितिरहेकी छन् ।
‘मलाई बुवा निर्वाचित हुँदाको पल थाहा छैन, तर उहाँका अधुरा योजना धेरै सुनेकी र सम्झेकी छु’ उनले भनिन् ‘स्वास्थ्यकर्मी छोडेर बुवा अध्यक्ष बन्नुभयो इन्जिनियर छोडेर म उपमेयर बनें ।’
ताराचन्द्रको कंकाल भेटिएको त्यो बेला
नेकपा (एमाले)को ‘शान्ति र प्रजातन्त्रका लागि जनअभियान’का क्रममा सदरमुकाम मार्तडीबाट गाउँ हिँडेका ताराचन्द्रको अपहरणपछि हत्या भएको जानकारी परिवारका सदस्यले पाए, तर शव फेला परेन । घटनाको करिब तीन वर्षपछि २०६३ साल असोजमा एमाले सुदूरपश्चिमका अहिलेका अध्यक्ष कर्ण थापाको अगुवाइमा रेग्मीको शव उत्खनन् गरियो । थापा त्यतिबेला बाजुराका पार्टी सचिव थिए ।
बाजुराको छतारासँग जोडिएको अछामको ऋषिदहमा नियन्त्रणमा राखिएका रेग्मीलाई हत्या गरेर खाल्डोमा पुरिएको थियो । खाल्डो खोतल्दा अस्थिपञ्जरसँगै एमालेको ‘शान्ति र प्रजातन्त्रका लागि जनअभियान’को ब्यानर भेटिएपछि शव उनकै हो भन्ने विश्वास गरियो ।
तत्कलीन अवस्थामा थापाकै अगुवाइमा ‘न्याय खोज्न प्रमाण हुन्छ’ भनेर शव उत्खनन गरी खप्पर पार्टी कार्यालयमा ल्याएर राखिएको थियो । अहिले पार्टी कार्यालयमा खप्पर राखिएको १५ वर्ष भयो । तर, अहिलेसम्म पनि आफन्तले उक्त खप्पर बुझेका छैनन् ।
पार्टी कार्यालयमा राखिएको जानकारी पाए पनि सृष्टिले अहिलेसम्म बुवाको कंकाल देखेकी छैनन् । कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरेको र दोस्रोपटक संस्कार गर्न नहुने भएकाले कंकाल स्वीकार नगरेको उनले बताइन् । पार्टी कार्यक्रमकै सिलसिलामा बुवाको हत्या भएको बताउँदै उनले यस विषयमा पार्टीबाटै छानबिन तथा न्याय प्रक्रिया अघि बढ्नुपर्ने उनको बुझाइ छ ।
गाउँबाट विस्थापित, पोखरा विश्वविद्यालयबाट राजनीतिमा प्रवेश
८ वर्षको कलिलो उमेरमै सृष्टि जिल्लाबाट विस्थापित हुनुपर्यो । बाजुरामा स्कुल बन्द भएपछि उनलाई पढाउनका लागि नेपालगञ्ज झारियो । एसएलसी नेपालगन्जबाट नै उतीर्ण गरेपछि उनी ‘प्लस टु’ अध्ययनका लागि काठमाडौं आइन् । र, सिभिल इन्जिनियरिङ अध्ययनका लागि पोखरा गइन् । इन्जिनियरिङ अध्ययनका लागि पोखरा विश्वविद्यालय भर्ना भएसँगै उनको राजनीतिक यात्रा आरम्भ भयो ।
‘पोखरा विश्वविद्यालयमा बेथिति चरम बिन्दुमा थियो । आन्दोलन मात्रै हुने, पढाइ नहुने, विद्यार्थी नेताले शुल्क नबुझाइदिने, आफू फेल भयो भने तालाबन्दी गरिदिने हुन्थ्यो । यस्ता कुरा प्रत्यक्ष देखेपछि एउटा गलत मान्छे राजनीतिमा आए शक्ति दुरुपयोग कति हुँदो रहेछ भन्ने महसुस भयो’ उनले भनिन्, ‘त्यसपछि म राजनीतिमा जोडिन पुगें ।’
कक्षा कमिटी हुँदै अनेरास्ववियू पोखरा विश्वविद्यालय महिला विभाग प्रमुख भएर काम गरेकी उनी अनेरास्ववियूको केन्द्रीय सदस्य समेत भइन् । लोक सेवा लडेर सरकारी जागिर खाने सपना बोकेकी सृष्टि चुनाव लडेर सरकार चलाउने भइन् । जिल्ला विकास समिति बाजुरामा इन्जिनियर पदमा विज्ञापन खुल्यो । उनको ध्यान त्यतै मोडियो । ८ वर्षको उमेरमा बाजुराबाट विस्थापित भएकी सृष्टिलाई आफ्नो जन्मभूमिमा स्थापित हुन त्यो भन्दा सुनौलोअवसर अर्को लागेन ।
‘आफ्नो जन्मभूमिमै केही गर्ने सोचेर मैले पनि आवेदन दिएँ’ उनले भनिन् ‘२०७३ माघमा नियुक्त भएँ । ’ उनले त्यहाँ संसद विकास कोष हेर्ने गरी काम पाएकी थिइन् । वैशाखमा चुनाव घोषणा भयो । स्थानीय तह संघीयताले ल्याएको प्रबल पक्ष हो भन्ने सृष्टिलाई लाग्यो । पाँच वर्षमा समृद्धिको आधार बनाउन सकिन्छ भन्ने सोचिन् र उनी खाइरहेको जागिर छाडेर निर्वाचन लड्ने योजनाा पुगिन् ।
जनप्रतिनिधि भएकै बेला बुवाको हत्या भएको जिल्लामा उनले पनि जनप्रतिनिधिमा दावी गरेपछि धेरैले ताराचन्द्रको उत्तराधिकारीको रूपमा सृष्टिलाई लिए र राम्रो मत दिए । परिणामतः २४ वर्षको उमेरमै उनी बूढीनन्दा नगरपालिकाको उपप्रमुख भइन् । नगरपालिकामा एमालेले मेयर जित्न सकेन तर पनि सृष्टिले पार्टीको नेतृत्व गरिरहेकी छन् ।
उपप्रमुख भएपछि गरेको साहस र सत्प्रयास
नगरपालिकाको उपप्रमुख निर्वाचित भएपछि उनले निकै राम्रा कामको सुरुवात गरिन् । पाण्डुसेनबाट कोटिला जाने सडक निर्माण भइरहेको थियो । सडक निर्माण गर्न जनप्रतिनिधिकै डोजर प्रयोग भइरहेको थियो । त्यसपछि सृष्टिलाई सडक निर्माणका नाममा घोटला हुनसक्ने शंका बढ्यो ।
योजना अनुगमन गर्ने जिम्मा उनैमाथि थियो । प्राविधिक पनि भएकाले आर्थिक अनियमितता रोक्न १० लाख रुपैयाँभन्दा माथिको योजना उनी आफैं हेर्ने गर्थिन् । उक्त योजनामा पनि कामभन्दा बढी भुक्तानी भएको थाहा पाएपछि उनले विरोध जनाइन् । ‘नगरपालिकाका इन्जिनियरले सबै ठिक छ भन्दा पनि मलाई विश्वास लागेन’ उनले भनिन्, ‘त्यसपछि आफैंले उपकरण लिएर नापजाँच गर्न थालें । ’
उनका अनुसार ४० लाख खर्च भयो भनिएको सडकमा करिब २५ लाखको मात्रै काम देखियो । उनले भनिन्, ‘इन्जिनियर र प्रशासकीय प्रमुखसहितलाई आर्थिक हिनामिना भएको भनेपछि उहाँहरू हच्किनु भयो । करिब १० लाख रुपैयाँ जोगियो ।’उनले त्यो बेला बिज्ञप्ति नै जारी गरेर कामभन्दा बढी भुक्तानी भएको भन्दै विरोध जनाएकी थिइन् ।कोल्टी–बड्डाला–कुरूँ सडकमा पनि नगरपालिकाका प्राविधिकले यस्तै गरेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘प्राविधिकहरू कहाँ खेल्छन् भन्ने कुरा मलाई थाहा थियो । उहाँहरूलाई सहज होस् भनेर मैले पटक–पटक भनेको पनि थिएँ, फेरि पनि मान्नुभएन अन्ततः दुवै इन्जिनियरले जागिर छोड्नु भयो ।’ अख्तियारले चासो दिएपछि इन्जिनियरहरू पन्छिएको उनको भनाइ छ । उपप्रमुखलाई योजना अनुगमनको जिम्मेवारी दिएपछि त्यसमा रोक्ने अधिकार नदिएकोमा उनी गुनासो गर्छिन् ।
‘उपप्रमुखलाई अनुगमनको अधिकार दिइएको छ तर, काम भएको छैन भन्दा पनि रोक्ने अधिकार छैन’ उनी भन्छिन् ‘कर्मचारीले चाहे उपप्रमुखले भन्दाभन्दै पनि रकम भुक्तानी हुन्छ । ’ उनी उपप्रमुखमा निर्वाचित भएको चार वर्ष पूरा भइसकेको छ । तर अझै केही राम्रा काम गर्न बाँकी भएको उनी बताउँछिन् । ‘टिम राम्रो नहुँदा मैले कल्पना गरेको जस्ता काम हुन सकेको छैन’, उनले भनिन् ‘तर पनि नीतिगत रूपमा धेरै कुराको सुधार गर्ने प्रयास गरेको छु ।’
अहिले अधिकार क्षेत्रमा रहेका कामहरूलाई प्राथमिकता दिएको र आर्थिक अनियमितता रोक्न नीतिगत सुधार गरेको उनी बताउँछिन् । ‘अहिले दुई करोड रुपैयाँसम्मको बिडिङ गर्ने र एक करोड रुपैयाँसम्मको योजनाको काम उपभोक्ताले गर्न पाउने व्यवस्था छ, यी दुवै प्रक्रियाबाट काम प्रभावकारी हुन सकेको छैन’, उनले भनिन्, ‘कार्यपालिकाको बैठकमा मैले माइन्यूट कब्जा गरेरै भए पनि ३० लाखभन्दा ठूला योजना अनिवार्य ईबिडिङ गर्नुपर्ने प्रावधान ल्याएँ ।’ यसले तेस्रो वर्षदेखि काममा केही सुधार देखिएको उनको दावी छ ।
महिलामैत्री कार्यक्रम
गर्भवती तथा सुत्केरीहरूलाई समयमै अस्पताल पुर्याउन नसक्दा बाजुरामा बर्सेनि धेरै महिलाहरूले ज्यान गुमाउनुपर्ने बाध्यता छ । सृष्टिले मातृ मृत्युदर कम गर्न रेफर गरेका गर्भवती महिलालाई नगद २० हजार दिने कार्यक्रम पनि ल्याएकी छन् । ‘कतिसँग रकम नहुँदा अन्यत्रै लैजानुपर्ने गर्भवतीलाई घरमै ल्याउने गरेको पनि पाएका थियौँ’, उनले भनिन् ‘त्यहीं समस्याको अन्त्य गर्न हामीले रकम दिन थालेका छौँ ।’
कसैले उद्यम गर्न चाहे एकल महिलाको लागि सहयोग समेत गर्ने गरेको उनले सुनाइन् । बालविवाह अन्त्यको लागि विवाह गराउने पुजारीले दुवैको नागरिकता हेर्नुपर्ने नियम लगाएपछि बालविवाह रोकिएको उनको दावी छ । ‘नागरिकता हेरेर मात्रै विवाह गराउने भन्दै सबै पुजारीलाई नगरपालिकामै बेलाएर सम्झौता गराएका थियौं’, उनले भनिन्, ‘अहिले पुजारीहरू पनि खुसी हुनुभएको छ ।’
भूमिका परिवर्तनको रहर
कम उमेरमै स्थानीय तहको उपप्रमुख भएर काम गरिरहेको सृष्टिलाई अब अर्को भूमिकामा काम गर्ने रहर छ । तर, समाज सुधारमा स्थानीय तहकै सबैभन्दा ठूलो भूमिका हुनेमा उनी विश्वस्त छिन् । ‘अवसर पाए स्थानीय तहमा फेरि जनप्रतिनिधि भएर आउन चाहन्छु तर, अहिलेकै पदमा आउने सोच छैन’ उनले भनिन् ‘पार्टीले जिम्मा दिए प्रमुख नभए त्योभन्दा माथि अर्को कुनै जिम्मेवारीमा काम गरौँला ।’
‘प्रबल जनसेवा श्री’ चतुर्थ श्रेणीबाट विभूषित भएपछि उनमा थप उत्साह र हौसला पलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई विभूषित गरेकी हुन् । ताराचन्द्र रेग्मीको परिवारबाट सृष्टि मात्रै होइन, उनका भाइ बलदेव रेग्मी पनि अहिले राजनीतिमा छन् । रेग्मी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् । दाजुको हत्या भएपछि भाइले राजनीति सुरु गरेका थिए । भाइले राजनीति सुरु गरेको केही वर्षपछि छोरीले पनि राजनीति सुरु गरेकी हुन् । उनी भन्छिन्, ‘अहिले कान्छो बुवा र म दुवै राजनीतिमा छौँ, हामी दुवैको सपना बुवाको सपना पूरा गर्ने हो ।’