बैतडीमा भाइरल ज्वरोका एक बिरामीको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–५ वनकाडाका ३८ वर्षीय प्रमानन्द भट्टको बुधबार मृत्यु भएको हो। गएको तीन हप्तादेखि ज्वरो आएकामा उनलाई मङ्गलबार जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको थियो।
जाँच गर्दा प्रमानन्दको रगतमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर डम्बरजङ्ग सिंहले जानकारी दिए। भट्टलाई ज्वरो, रुघाखोकी, पखाला, श्वासप्रश्वासमा समस्या रहेको थियो।
अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नभए पनि औषधि लगेर प्रमानन्दलाई मङ्गलबार घर लगिएको थियो। आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर गर्नका लागि स्वाब सङ्कलन गरिएको छ। स्वाबको रिपोर्ट भने आउन बाँकी छ। पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रमानन्दलाई कोरोना पनि हुनसक्ने डाक्टर सिंहले बताए।
मङ्गलबार रातिदेखि नै प्रमानन्दको स्वास्थ्य थप समस्या आएपछि बुधबार बिहानै उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।