गत वर्ष भारतमा कोरोनाको महामारी बढेसँगै गौरीफन्टा नाकाबाट हजारौँको सङ्ख्यामा नेपालीहरू घर फर्कन थाले । नाकामा जोखिम पनि बढ्यो । यसबीच धेरै संक्रमित पनि भित्रिए ।
ठूलो सङ्ख्यामा नेपालीहरू फर्किन थालेपछि गत वर्षदेखि स्वास्थ्यकर्मी खटाइयो । त्यसबेला बिहानैदेखि नेपालीहरू नाका हुँदै नेपाल फर्कन्थे यो क्रम रातिसम्म जारी रहन्थ्यो ।
स्वास्थ्यकर्मीलाई कोरोना कहरमा नाकामा खटिएर काम गर्न सजिलो थिएन । भारतबाट नेपाल फर्किएकाहरूमा कति त सङ्क्रमित नै थिए । स्वास्थ्यकर्मीले भारतबाट आउनेहरूको ज्वरो नाप्ने, रेकर्ड राख्ने तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्छन् ।
नाकामा खटिने स्वास्थ्यकर्मी मध्येकी एक हुन् बेलु जोशी । कोभिडको पहिलो लहर सुरु भएदेखि नै उनी नाकामा खटिइन् । सुरुमा नाकाको हेल्थ डेस्कमा टेन्ट पनि लगाइएको थिएन । कर्मचारी पनि कम थिए ।
‘नाकामा चार जना मात्रै थियौँ बिहान ६ बजेदेखि राति ९ बजेसम्म काम गर्थ्यौं,ु उनले भनिन् । प्लास्टिकले बेरेको छानोमा बस्नुपर्ने बाध्यता थियो । कहिले हुरी आएर उडाउने त कहिले पानी चुहिने । दिनभर घाम पानी नभनी नाकामा उभिनुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।
काम गर्दागर्दै जोशीलाई वैशाखमा कोरोना सङ्क्रमण भयो । घरका अरु सदस्यलाई पनि कोरोना लाग्यो । यसरी जोखिमका बीच काम गरेर पनि जोखिम भत्ता भने नपाएको उनको गुनासो छ । ‘ज्यानको ख्याल नगरी नाकामा खटियौँ । तर, जोखिम भत्ता भने पाएनौँ,ु उनले भनिन् । घण्टौँसम्म पानीसमेत नखाइ काम गरेको अनुभव छ उनको ।
स्वास्थ्यकर्मी कमला ऐर पनि नाकामा खटिएकी छन् । उनी कोरोनाको दोस्रो लहर सुरु भएदेखि गौरीफन्टा नाकाको हेल्थ डेक्समा खटिएकी हुन् । त्यसअघि उनी डडेल्धुरा स्वास्थ्य चौकीमा कार्यरत थिइन् । नाकामा काम गर्दा घरपरिवारलाई पनि संक्रमण हुन्छ भन्ने चिन्ता रहने उनी बताउँछिन् । घरमा उनका चार वर्षीय छोरा भएकाले जोखिम अझ बढी छ ।
‘आफ्नो कारणले घर परिवारलाई संक्रमण हुन्छ भन्ने चिन्ता हुन्छ,’ उनले भनिन् । खाना तथा पानी समेत नखाई काम गर्नुपरेको उनले बताइन् । अहिले स्वास्थ्यकर्मी थपिएपछि केही सहज भएको उनको भनाइ छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेब गणेश साउँद कोरोना संक्रमण सुरु भएदेखि गौरीफन्टा नाकाको हेल्थ डेस्कमा खटिएका छन् । उनी हेल्थ डेस्कका इन्चार्ज हुन् । ‘काम गर्दागर्दै कती बज्छ, थाहा नै हुँदैन,ु उनले भने ।
ुबाक्लो पीपीई सेट लगाएर गर्मीमा घण्टौँ उभिँदा कहिले निकै समस्या पनि हुन्थ्यो,’ उनले भने । उनी सुरक्षाकर्मीसँगै नाकामा उभिएर भारतबाट आएकाहरूको ज्वरो नाप्दै भित्र पठाउँथे ।
नाकामा भिड थियो । कर्मचारीको सङ्ख्या थोरै । पछिल्लो एक महिनायता भारतबाट आउनेको संख्या कम भएको उनले सुनाए । अहिले स्वास्थ्यकर्मी थप भएकाले अलि सहज भएको उनी बताउँछन् ।
‘सँगै काम गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भयो । तर, उनीहरूले बीमाको रकम पनि पाएनन्,’ उनले भने । जोखिम भत्ता पनि नपाएको उनको भनाइ छ ।
गणेश साउँद
गौरीफन्टा नाकालाई अहिले कैलाली तथा कञ्चनपुर दुबै जिल्लाले हेरिरहेको साउँदले बताए । अहिले त्रिनगर नाकामा साउँद सहित २३ जना स्वास्थ्यकर्मी तथा स्वयम् सेवक खटिएका छन् । नाकामा पुनर्वास नगरपालिकाकाबाट ९, सामाजिक विकास मन्त्रालयका १ र धनगढी उप–महानगरपालिकाकाबाट १ जना स्वास्थ्यकर्मी खटिएका छन् । त्यस्तै, एक जना स्वास्थ्य निर्देशानयबाट, नेपाल रेडक्रस सोसाइटीबाट चार, तथ्यांक राख्ने दुई र कार्यलय सहयोगी दुई जना खटिएका छन् । अरू स्वास्थ्य कार्यालयबाट खटिएका छन् ।
‘पोजिटिभ आएकाहरू मेरो मात्र कसरी पोजिटिभ आयो भनेर धम्काउन पनि आउँछन्,’ साउदले भने । पोजिटिभ आएका कतिपय भाग्ने गरेको उनले बताए । सङ्क्रमितलाई धनगढीको कनरीमा रहेको आइसोलेसनमा राख्ने व्यवस्था छ ।
नाकाको निरीक्षणका लागि सीडीओ, नेता, मन्त्रीदेखि मेयरसम्म आउँछन् । तर, कसैले पनि उनीहरूको समस्यालाई गम्भीरतापूर्वक नलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।