प्रकृति हाम्रो सारै नै राम्रो मुसुक्क हाँसेको,
कति छ्न् यहाँ बोकेर आशा मानिस बाँचेको।।
हराभरा छ सुन्दर अति लोभ्यायो यो मन,
सबैको साझा चौतारी हाम्रो प्रकृति हो धन।।
घाम र पानी मायाकी खानी धर्तीको आँगनी,
गरेर काम उंमग छरौं सजाई सपनी।।
प्रकृति तिम्रो सुन्दर रूप देखेर रमाएँ,
मनका पीडा पोखेर सबै मनमै बिसाएँ।।
इन्द्रेणी रंग पार्यौ नि दङ्ग अचम्म प्रकृति,
जादुको छडी चलाई घडी जादुको प्रवृत्ति।।
हृदय भरी प्रकृति परी नाँच्दछिन् आँखामा,
शिखर चढ्न सिकायौ लड्न भीर र पाखामा ।।
कसरी गरूँ नि:शब्द भएँ प्रकृति कामना,
सधैं नै तिम्रो प्रेरणा लिई गर्दछु सामना ।।
आमा हौ तिमी धर्ती हौ तिमी जगतै संसार,
प्रकृति पुज्नू सबैले बुझ्नू महिमा अपार।।
रिता खराल ,रुपन्देही