(१)
आफूभित्र भएको हरेक चोट बल्झिन्छ,
दु:खीले गरेको सबै कर्म खोट बल्झिन्छ,
मर्नु न बाँच्नु जीन्दगीले नै बनाएपछि,
कहिले त बली चढाउने कोट बल्झिन्छ,
कतै त सुकेको नि रुखको बोट बल्झिन्छ ॥
(२)
साहसी, माया र ममताकी खानी हौ आमा,
तिमी त सधैँ मेरो नै जिन्दगानी हौ आमा,
कति गर्छ्यौ मनमा आशा र पीडा बोकेर,
दिलभित्र सजिएकी मेरी रानी हौ आमा,
सधैँ नै चाहिने तिर्खा मेट्ने पानी हौ आमा ॥
(३)
गर्न सक्छु भनेर कहिल्यै आँट आएन,
जिन्दगीको दौडानमा कुनै छाँट आएन,
पछार्यो नि हरेक मोडमा पीडाहरूले,
नयाँ सोच राखी गर्ने छाँटकाँट आएन,
जिउँदै मर्दा पनि त लग्ने घाट आएन ॥
(४)
प्यारो बाबाआमा मनभित्र साचेर हेर,
सधैँ माया र सम्मान गरी राखेर हेर,
भगवान् नै भेटाउनेछौ अन्त नखोज,
बुबाआमालाई मिठो माया गाँसेर हेर,
संसारमा सबैभन्दा बढी चाहेर हेर ॥
(५)
प्रकृतिसँग जति नै रम्न खोजे पनि,
जिन्दगीले अर्कैतिर मोड मोडे पनि,
सोचेको कहाँ पुरा हुन्छ र बुझ्नुपर्छ,
पुग्दैन चोरलाई अर्काको चोरे पनि,
व्यावहारिक ज्ञान हुँदैन घोटे पनि ॥
(६)
गर्मी भएको बेलामा पङ्खा नपाए के होला,
मान्छे मरेको बेला मलामी नआए के होला,
मर्नु न बाँच्नु हुने नै त थियो नि जिन्दगीमा,
चाहिएको कुरा बेलामा नै नधाए के होला,
भोक लागेको बेलामा खाना नखाए के होला ॥
(७)
किताबहरू धेरै नै भए पनि नपढे के काम ?
विद्यार्थी भएर व्यवहार राम्रो नरहे के काम ?
असफलको घडीले पछ्याउँछ यस्तो भएपछि,
शिक्षकले नि आफ्नो कर्तव्य पुरा नगरे के काम ?
सोधेको कुराहरू जान्नेले पनि नभने के काम ॥
(८)
नबन्ने कुरा पनि बनाएर हेर,
नबग्ने चिज पनि बगाएर हेर,
छुट्टै आनन्द अनि खुसी पाउँनेछौ,
नबँच्ने खाना पनि बचाएर हेर,
नबल्ने आगो पनि बलाएर हेर ॥
(९)
डाक्टर भएपछि त जाँच्न जान्नुपर्छ,
सामान्य मान्छेले केहीँ साँच्न जान्नुपर्छ,
असल ज्ञानी भएर राम्रो काम गरी,
सबैले मिलेर सँगै बाँच्न जान्नुपर्छ,
नराम्रो गर्नेको खुट्टा भाँच्न जान्नुपर्छ ॥
(१०)
समयको सधैँ सदुपयोग गर्न जान्नुपर्छ,
दु:खेको घाउमा मलम पट्टी भर्न जान्नुपर्छ,
केही न केही सबैले गर्नु नै पर्छ जिन्दगीमा,
आपत परेपछि खोला पनि तर्न जान्नुपर्छ,
भोक लागेपछि काम गरेर चर्न जान्नुपर्छ ॥
रिता खराल ,रुपन्देही