गएराति बझाङको बाहुली खोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ।
सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुली खोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो।
सुर्मा गाउँपालिका-२, धौलो पैरामा पहिरो जाँदा सुर्मा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमल चौधरीले बताए।
पहिरोले पुर्याएको क्षतिबारे बुझ्न जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली खटिएको छ। टोली पहिरोग्रस्त क्षेत्रमा पुगिनसकेकाले क्षतिको विवरण आइसकेको छैन।
वर्षायाम भएकाले जिल्लाका दर्जनौ गाउँहरू पहिरोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक रहनसमेत सूचना अधिकारी चौधरीले आग्रह गरेका छन्।
सोही पहिरोका कारण सुर्मा गाउँपालिका-२ को सेनडोगडी विद्युत प्रालिको पावरहाउस पनि जोखिममा परेको छ।