गत बिहीबार २ सय ३० मिलिग्राम खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका–३ बाट २१ वर्षीय शैलेस अवस्थी पक्राउ परे।
त्यसको अघिल्लो दिन ५ ग्राम खैरो हेरोइनसहित भजनी नगरपालिका–१ स्थित मोहन्याल सामुदायिक वनबाट सोही नगरपालिकाको वडा नम्बर ८ चर्राका ३० वर्षीय दिनेश चमार पक्राउ परेका थिए।
यी त प्रतिनिधि घटना मात्रै हुन्। कैलालीमा दैनिकजसो लागुऔषधसहित कारोबारी र सेवनकर्ता पक्राउ पर्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्यांक अनुसार पछिल्लो २२ दिनमा २६ जना लागुऔषधसहित पक्राउ परेका छन्।
गत असार १६ गतेदेखि साउन ६ गतेसम्म २५ पुरुष र १ महिला गरी २६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असार १६ देखि नै कैलाली प्रहरीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले सम्हालेका छन्।
पछिल्लो समय कैलाली लागुऔषधको ट्रान्जिट बन्दै गएको छ। खुला सीमाका कारण लागुऔषध कारोबारीको रोजाइमा कैलाली पर्ने गर्छ।
पहाडी जिल्लाबाट उत्पादन हुने चरेस ठुलो मात्रामा भारत जाने गरेको र भारतबाट खैरो हेरोइन, नाइट्रोभेट, स्पास्मोप्रक्सोभन, अफिमलगायतका लागुऔषध नेपाल भित्रिने गरेको प्रहरीको बुझाइ छ।
तीन वर्षमा २६१ मुद्दा दर्ता, ३९९ पक्राउ
लागुऔषधको समस्या प्रहरीका लागि पनि मुख्य चुनौती बन्दै गएको छ। तथ्यांक अनुसार लागुऔषधको कारोबार, ओसारपसार र सेवनका घटनामा अधिकांश युवा छन्।
पछिल्लो तीन वर्षमा २ सय ६१ मुद्दामा ३ सय ९९ जना पक्राउ परेका छन्। आर्थिक वर्ष ०७५/०७६ मा लागुपदार्थसम्बन्धी ८७ मुद्दामा १ सय २७ जना पक्राउ परेका छन्। तीमध्ये चार जना फरार छन्। लागुऔषध सेवनकर्ता दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका छन्।
आर्थिक वर्ष ०७६/०७७ मा लागुऔषधसम्बन्धी ८३ मुद्दामा १ सय २८ जना पक्राउ परे।
यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा लागुऔषधसम्बन्धी ९१ मुद्दा दर्ता भएकोमा १ सय ३२ जना पक्राउ परेको कैलाली प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।
लुकीछिपी लागुऔषध सेवन र ओसारपसार गर्नेको संख्या योभन्दा बढी हुनसक्ने प्रहरीको आकलन छ।
एसपी अधिकारी कैलालीमा लागुऔषध नियन्त्रण मुख्य चुनौती भएको बताउँछन्। ‘कारोबारी र सेवनकर्ताको संख्या बढ्दो गतिमा छ,’ उनले भने, ‘सेवनकर्तालाई लागुऔषधले चुम्बकले फलामलाई तानेजसरी तान्छ। लागुऔषधको एक डोजले काम गर्न छोडेलगत्तै, अर्को डोज अनिवार्यरूपमा चाहिन्छ। कारोबारीले छोटो समयमा धेरै रकम पैसा कमाउन सकिने भएकाले यसको कारोबार गर्न छोड्दैनन्।’
दुर्व्यसनीमा युवा र बालबालिका, घर–परिवार पहिलो कारण
पछिल्लो समय युवापुस्ता मात्रै होइन, बालबालिका पनि लागुऔषधको सिकार भइरहेका छन्।
विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कूलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन्। लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कूलतमा फस्ने जोखिम झन् बढेको छ।
लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेको जनता राष्ट्रिय मावि, सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले बताए।
‘हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ÷दश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्,’ उनले भने, ‘विद्यार्थी फुर्सदिला भएका छन्। अझ गलत संगतमा फस्ने जोखिम बढेको छ।’
प्रहरीको तथ्यांक अनुसार कैलालीमा लागुऔषध प्रयोग गर्नेमा अधिकांश १६ वर्षदेखि २५ वर्षका युवायुवती छन्।
लागुऔषध प्रयोगकर्ता र कारोबारी बढ्नुको पहिलो कारण घर–परिवार नै भएको एसपी अधिकारीको भनाइ छ।
‘लागुऔषध ओसार–पसार तथा सेवनमा युवापुस्ता बढी सक्रिय छन्,’ एसपी अधिकारीले भने, ‘अभिभावकले छोराछोरीको हेरचाह गर्न नसक्नु नै पहिलो कारण हो, आफ्ना नानीबाबुका हरेक गतिविधिमा निगरानी राख्नुपर्याे। नराम्रा जुनसुकै क्रियाकलापबाट मुक्त राख्नु पर्याे। उनीहरूको संगत कोसँग छ ? के–के कुरा खान्छन् ? कहाँ–कहाँ जान्छन् ? त्यो सबै कुरा अभिभावकले नै हेरेर उनीहरूलाई सही बाटोमा ल्याउनुपर्छ।’
यसको नियन्त्रणको लागि व्यक्ति, समाज र सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने एसपी अधिकारीले बताए।
खुला सीमा मुख्य चुनौती
कैलालीमा लागुऔषध नियन्त्रण चुनौतीका रूपमा देखिनुको पहिलो कारण खुला सीमा हो।
भारतसँग जोडिएको कैलालीको एक सय एक किलोमिटर क्षेत्रमा खुला सिमाना छ। जहाँबाट सजिलै लागुऔषधको ओसार–पसार हुने गरेको छ। उसो त केही क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी राखिएको छ। तर, त्यसले लागुऔषध नियन्त्रण गर्न सकेको छैन।
‘खुला सिमाना र सहज उपलब्धताका कारण दिन–प्रतिदिन प्रयोगकर्ताको संख्या बढ्दै छ,’ एसपी अधिकारीले भने, ‘लागुऔषधकै कारण जघन्य अपराध हुन्छ। हत्या, हिंसा, बलात्कार, चोरी–डकैतीजस्ता क्रियाकलापमा उनीहरू नै संलग्न हुन्छन्। यसमा महिलाको संलग्नता पनि बढ्दै गइरहेको छ।’
‘एक्सन’मा प्रहरी
लागुऔषध नियन्त्रणका लागि कैलाली प्रहरीले निगरानी बढाएको छ। एसपी अधिकारीले आफ्नो कार्यकालमा जिल्लामा लागुऔषध नियन्त्रण गर्ने बताएका छन्।
‘मैले जिम्मेवारी सम्हालेको एक महिना पनि पुगेको छैन। तर, यो अवधिमा हामीले तीन दर्जनभन्दा बढीलाई समातेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘ओसारपसारकर्ता र सेवनकर्ता प्रहरीबाट बच्न सक्दैनन्। हामी ‘एक्सन’मा छौं।’
लागुऔषध नियन्त्रणका लागि एसपी अधिकारीको नेतृत्वमा कैलाली प्रहरीले ‘भविष्य बचाऊ’ अभियान सञ्चालन गरेको छ।
‘हामीले सीमा नाकामा गस्ती बढाएका छौं। जनचेतनामूलक कार्यक्रममा जोड दिएका छौं,’ उनले भने, ‘भविष्य बचाऊ अभियानअन्तर्गत हामीले जनचेतनामूलक कार्यक्रम र सेवनकर्ता र कारोबारीलाई नियन्त्रणका समुदायसँग छलफल गर्छाैं। हामीले समुदायमा बढीभन्दा बढी प्रहरीका साथी बनाएका छौं, जसले गर्दा अपराधीलाई नियन्त्रणमा लिन सहज हुन्छ।’
लागुऔषध नियन्त्रणका लागि सुरक्षा रणनीति मजबुत बनाइएको एसपी अधिकारीको दाबी छ।हामीले उच्च सुरक्षा सतर्कता अपनाएका छौं। प्रगति देखिँदै जान्छ,’ एसपी अधिकारीले भने, ‘सेवनकर्ता प्रहरीको फन्दामा परे बरु जीवन जोगाउन सक्छ। नत्र लागुऔषधको असरले ढिलोचाडो मुखबाट रगत फालेर मर्छ। हामीले सक्दो प्रयास गरिरहेका छौं।’