मनसुन सक्रिय हुँदा देशका विभिन्न ठाउँमा आज बाढी आउने सम्भावना रहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य रहेको छ ।
आज विहान ७ बजे देखि २४ घण्टासम्म महाकाली र यसका सहायक नदीहरुमा बहाब बढे पनि सतर्कता तहभन्दा तलै रहने विभागले जनाएको छ ।कोशी, नारायणी र कर्णालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान रहेको छ ।
प्रदेश १ को ताप्लेजुङ्ग, पाँचथर, सोलुखुम्बु, संखुवासभा, भोजपुर, खोटाङ, झापा, मोरङ तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ्गमा नदी तथा खोलामा भने पानीको बहाव बढ्ने विभागले जनाएको छ ।
गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, लुम्बिनी प्रदेशको पाल्पा, रुपन्देही, रुकुम पूर्वका नदी तथा खोलामा पानीको बहशाव बढ्ने सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिम, दैलेख, कालिकोट, मुगु, जुम्ला, जाजरकोट, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, अछाम, डडेलधुरा, कंचनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीसमेत आउने सम्भावना रहेकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।