यस वर्षको मनसुन सुरु भएयता ६३ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोबाट ४८ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
विभिन्न स्थानको बाढीपहिरोमा परी ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको प्राधिकरणले जनाएको छ। त्यस्तै ५ सय ६५ निजी आवास पूर्ण रुपमा क्षति भएको छ भने १ सय ५५ घर आंशिक रुपमा क्षति भएको तथ्यांक छ। पहिरोका कारण ३७ सरकारी भवन एवं १२ वटा सामुदायिक भवन तथा विद्यालयमा क्षति पुगेको छ।
त्यसैगरी निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेवल पुल र २५ वटा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएको छ।