बझाङ : तरकारी बारीमा व्यस्त भइरहनु वित्थडचिर गाउँपालिका-१, आनन्दपुरका कलक बोहराको दैनिकी बनेको छ। कालापहाडको मजदुरी छोडेर बोहरा तरकारी खेतीतर्फ आकर्षित भएका छन्।
भारतको पिथौरागड, झुलाघाट, मुन्सारी र धार्चुला लगायत ठाँउमा ज्याला-मजदुरी गर्दै आएका बोहरा गत वर्षको कोरोना महामारीका बेला बेरोजगार भए। महामारीका बेला रोजगारी खोसिएपद्धछि उनी घर फर्किए।
मजदुरी गरेर हुने आम्दानी घर खर्चमै सकिन्थ्यो। रकम बचत गरेर व्यवसाय गर्न सकिने अवस्था पनि थिएन। महामारीमा मजदुरी छुटेपछि उनी आम्दानी गर्ने नयाँ बाटो खोज्न थाले।
त्यसै समयमा गाउँमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले आनन्दपुर सोलार लिफ्टिङ खानेपानी योजना निर्माण हुँदै गरेको देखेपछि उनले तरकारी खेती गर्ने सोच बनाए।
खानेपानी योजना बन्नुअघि आधा घण्टा टाढाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता थियो। योजना निर्माण भएपछि तरकारी खेतीमा राम्रो अवसर देखेका बोहराले धाराबाट निस्केर खेर गएको पानी जम्मा गरेर तरकारी खेती शुरू गरे।
शुरूमा उनले खेर गएको पानी जम्मा गरेर प्याज, बन्दा, टमाटर, फर्सी र खुर्सानीको बेर्ना उमार्ने तयारी गरे। बेर्ना उत्पादन पनि राम्रै भयो। बेर्ना राखेको छ भन्ने थाहा पाएपछि नजिकैका गाउँबाट आफ्नै घरायसी प्रयोजनका लागी बेर्ना किन्ने आउन थाले।
बेर्ना किन्ने मानिसहरू आउन थालेपछि उनले बेर्ना सँगसँगै तरकारी खेती शुरू गर्ने निधो गरे। यसै समयमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अन्र्तगतको जीविकोपार्जन कार्यक्रमले आयोजना गरेको करेसाबारी व्यवस्थापन सम्बन्धि छलफलमा सहभागी हुन पुगे।
यस छलफलमा उनले थप तरकारी खेतीबारे जानकारी पाएपछि उनले अहिले बेर्ना उत्पादनका साथै तरकारी खेती पनि व्यवसायिक रूपले शुरू गरेका छन्। हाल उनी अन्य किसानहरूलाई बेमौसमी तरकारी खेती, बीउबिजन, रोगकिरा तथा विषादीका बारेमा पनि जानकारी दिने गरेका छन्।
परम्परागत खेतीबाट वर्षभरि खान पनि पुग्दैन। पहिले त गाउँमा खानेपानीको समस्या थियो। तरकारी खेती गर्न सकिएन। ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले खानेपानी आयोजना निर्माण गरेपछि एकदम सहज भएको छ। उनले भने हिउँदमा शीतलहर तथा तुषारोबाट तरकारीलाई जोगाउन टनेलले मद्दत गर्ने गर्छ।
त्यस्तै, वर्षाको समयमा रोग किराबाट बताउन टनेलले सहयोग गर्ने गरेको छ। आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आएका छन्।
’बाँसका टहरामा प्लास्टिक लगाएर टनेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिन्छ। मैले अहिले ३ रोपनी जग्गामा तरकारी उत्पादन शुरू गरेको छु,’ जिल्ला कृषि ज्ञान केन्द्रले टनेल निर्माणमा सहयोग गरेको उनको भनाइ छ।
गत वर्षको भएको बन्दाबन्दीको समयमा पनि उनले तरकारीका बेर्ना बेचेर मात्रै ५० हजार रुपैयाँभन्दा बढी कमाए। तरकारी बाट पनि राम्रो आम्दानी हुन थालेको उनको भनाइ छ।
अहिले वित्थरचिर गाउँपालिकाका वितथड, देउलेख, सुनकुडा र बैतडीको श्रीभावर ढोल्यामोडसम्म टमाटर र अन्य तरकारी पुर्याउने गरेका छन्। कृषिमा राम्रो आम्दानी भएपछि हौसिएका उनी भन्छन्, ‘अब कृषितिरै लाग्छु, युवा जनशक्तिले कृषि उत्पादन गरेर गाउँलाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्छ ।’
युवा अवस्थाको जोश जागर र शक्ति विदेशी भूमिमा सक्ने र बुढेसकालमा स्वदेश फर्कने प्रवृत्तिका कारण उब्जनी हुने खेतीयोग्य जमिन पनि बाझिँदै गएर उत्पादन घट्ने गरेको उनले बताए ।
जिल्लाका अधिकांश क्षेत्रका युवाहरू भारतबाट फर्केर प्लास्टिक टनेलभित्र गोलभेँडा, सिमी, बोडी, घिरौँला, काँक्रोलगायत तरकारी खेतीमा लागेका छन्।