अछाममा गएरातिदेखि परेको भारी वर्षातपछि आएको बाढीले निर्माण सकिन लागेको मोटरेवल पुल भत्काएको छ।
साँफेबगर नगरपालिकाको वडा नम्बर १ र २ जोड्ने लुंग्रा नदीमाथिको वैद्यनाथ हुँदै चौमाला जाने बाटोमा पर्ने मोटरेवल पक्की पुल पानीको बहाव बढेपछि भत्किएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनकबहादुर बोहराले मंगलबार बिहान पुल भत्केको बताए।
सेती लोकमार्ग अन्तरगत निर्माण भइरहेको उक्त पुल २०७५ असारमा सम्झौता भई गएको चैतमा सक्ने लक्ष्य थियो। कोरोना महामारीका कारण निर्माण समयमै नसकिएको निर्माण कम्पनीको भनाइ छ।
स्वाँर कन्ट्रक्सन प्रालिले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ मूल्य अभिवृद्धि करसहितको लागतमा पुल निर्माणको जिम्मा पाएको थियो।