बडिमालिका नगरपालिका-९ को अनाई र झराउले गाउँ बाढीपहिरोको बस्ती नै उच्च जोखिममा भएको छ। निरन्तर वर्षा र डोजरले जथाभाबी सडक खनेपछि कमजोर भएको जमिन भाँसिदा बस्ती नै जोखिममा परेको छ।
गाउँमाथिबाट पहिरो आउने खतरा बढेपछि अनाईका १२ झराउलेका ८ गरी २० घरपरिवार अहिले पानी आएको दिनमा रातभर जागाराम बस्नु परेको अनाईका स्थानीय जया चदाराले बताए। मार्तडी कोल्टि सडक निर्माण गर्दा डोजर प्रयोग भएको र निरन्तर वर्षाका कारण कमजोर जमिन भासिएर सडकबाट खनेको बाटो ढुंगा गाँउमा पसेपछि अनाई र झराउले बस्ती जोखिममा स्थानीय शिक्षक गोरख बिकले बताए। रोपेको धानवालीमा बाढि पसेर बगरमा परिणत गरेको छ। बिकले गाउँमाथिबाट मार्तडी कोल्टि सडक निर्माण कम्पनीले जथाभाबी माटो ढुंगा बस्तिलाई नै जोखिम हुने गरेर फालेको बताए। स्थानीयले लगाएको धानको बेर्ना, रोपेको धान, मकै बाली पुरिनुका साथै गाउनै जोखिममा बनेको हो।
सडक निर्माण कम्पनीलाई सडक खनेको माटोलाई बस्तिलाई जोखिम हुने गरी नफाल्न अनुरोध गर्दा निर्माण कम्पनीले बेवास्था गरेको उल्टै स्थानीयलाई धमक्याउने गरेको अनाईकी स्थानीय मन्धरी सुनारले बताइन्। ढु्ंगा माटोलाई बस्तीभन्दा दायाँबाया कुनै ठाँउ बेबस्था गर्न डोजर चालकलाई र सडक निर्माण कम्पनीलाई आग्रह गर्दा नमानेर बस्ती नै जोखिम बनाएको सुनारले बताइन्।
बस्तीको मुनीतिर अनाई खोलाले कटान गरेको र माथि मार्तडी कोल्टि सडक जथाभाबी खन्दा घरपरिवार बचाउनै मुस्किल भएको स्थानीयले बताएका छन्। स्थानिय धौली चदाराले भन्छिन्, ‘बाबु बाजेदेखि आफ्ना दिन यहि काट्यौ अब बस्ती नै नरहेपछि बालबच्चा कहाँ लिएर पाल्ने हो। नेपाल सरकारले बस्ती नै सुरक्षित ठाउँमा सारि दिन पहल गरिदिए हुन्थ्यो।’
जथाभाबी सडक निर्माण कम्पनीले सडक खन्दा बस्ती जोखिम भएकोले जोगाउन जिल्ला प्रशासन कार्यलय बाजुरालाई स्थानीयले आग्रह गरेका छन्। जथाभाबी सडक निर्माणका कारण बस्ति जोखिम र सम्पतीको क्षतिको बारेमा प्रहरी, जनप्रतिनिधि स्थानियका रोहोबरमा मुचुल्कासहित प्रशासनलाई आग्रह गरेको बडिमालिका नगरपालिका( ९ का कार्यबहाक अध्यक्ष लालचन्द्र नेपालीले बताए।
जिल्ला प्रशासन कार्यालय बाजुराले स्थानियको निवेदनपछि पूर्वाधार विकास कार्यालयलाई सडक निर्माणका कारण बस्ती जोखिम र सम्पतिको क्षति भएको भए आवश्यक क्षतिपुर्तिको व्यवस्था मिलाउन पत्राचार गरेको साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताए। जथाभाबी सडक निर्माणले जिल्लाका दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा बनेका छन्।