कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो झोलुंगे पुल जीर्ण अवस्थामा पुगेको छ ।
पुल जीर्ण हुँदा पुलबाट महाकाली पारि रहेको दोधरा–चाँदनी नगरवासीलाई आवतजावत गर्न समस्या भएको छ ।
वर्षा सुरु भएपछि झोलुंगे पुलमाथि निमार्णाधीन चार लेनको पक्की पुलको पहुँच मार्गसमेत महाकाली नदीको बाढीले भत्काएपछि दोधरा–चाँदनी नगरपालिका आवतजवत गर्न झोलुंगे पुलको भरपर्दा पुल दिनानुदिन जीर्ण हुँदै जाँदा स्थानीयलाई समस्या भएको छ । वर्षायाममा नदीमा पानीको बहाब बढेकाले जीर्ण पुलबाट गरिने यात्रा जोखिमपूर्ण भएको स्थानीय रमेश सुनारले बताए ।
दोधरा–चाँदनी नगरपालिकाले भने जीर्ण पुलको मर्मत कार्य केही समयभित्र सुरु हुने जनाएको छ । नगरपालिकाकी उपप्रमुख चिनी गिरिले नगरपालिकाले इन्जिनियरसहितको प्राविधिक टोली पठाएर अविलम्ब पुल निर्माण गरिने बताइन् ।
नगरपालिकादेखि सदरमुकाम आउनका लागि दुईपांग्रे सवारी साधनभन्दा अन्य साधन लिएर आउनका लागि भारतको बाटो प्रयोग गरेर आउनु पर्ने बाध्यता छ । झोलुंगे पुल जीर्ण भएपछि स्थानीयलाई आवतजावत गर्न असहज हुने परिस्थितिलाई मध्यनजर गर्दै नगरपालिकाले छिटोछरितो झोलुंगे पुल मर्मत गर्न प्राथमिकता दिने उपप्रमुख गिरिले बताइन् ।