डोटीको पूर्वीचौकी गाउँपालिकाले त्यहाँका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा सहितको कोसेली वितरण सुरु गरेको छ ।पालिकाले सुनौला हजार दिन अन्तर्गत सुत्केरी भएका विपन्न, दलित महिलाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत ‘पोषण झोला’ वितरण गरेको हो । त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले सुत्केरी महिलाका घर घरमा गएर कोसेली बाँडिरहेको गाउँपालिका उपाध्यक्ष निर्मला साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमै पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ ।”
सुत्केरी महिलाले पोषणजन्य खानेकुरा खान नपाउँदा बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने गरेका कारण यो कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।
यस कार्यक्रम अन्तर्गत पालिकाभरिमा रहेका ८४ जना सुत्केरी महिलालाई पोषण झोला वितरण गरिन लागिएको हो । पोषण झोलामा एक क्यारेट अण्डा, एक लिटर तोरीको तेल, एक किलो चिनी, एक किलो चना, दुई प्याकेट चियापत्ती, एक प्याकेट आयोडिन नुनसहित फलफूल रहेको गाउँपालिकाले जनाएको छ ।