महाकाली प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप घट्दै गएको छ । केही दिनयता निको हुने बिरामीको दर बढ्दै गएको र नयाँ भर्ना हुनेको चाप घट्दै गएको हो ।
दुई साताअघिसम्म महाकाली अस्पतालमा ८०/८५ बिरामी भर्ना भएका थिए । दैनिक २५/३० जना भर्ना हुने गरेका थिए । आइतबार अस्पतालमा ३० जनाको उपचार भइरहेको छ । २ जना डिस्चार्ज भएका छन् भने नयाँ बिरामी थपिएका छैनन् । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
यसैगरी केही दिनयता पीसीआर परीक्षणका लागि आउनेको चाप पनि घटेको छ । आइतबार १६ जनाको मात्रै परीक्षण गरिएको छ । जसमा ६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार जिल्लामा २ संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा १ र सेती अस्पतालमा १ जनाको मृत्यु भएको हो । आइतबार जिल्लामा ३६ जनामा संक्रमण पुष्टि भएको छ । ७३ जना संक्रमणमुक्त भएका छन् ।