कोरोना त्रास र बन्दाबन्दीका बिच सुदूरपश्चिमका विभिन्न स्थानका बादी समुदाय आइतबार धनगढीमा देखेए । बाँच्न पाउने अधिकार कुण्ठित भएको भन्दै उनीहरूले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाए । बादी समुदायका नागरिकहरूको नेतृत्व सोही समुदायकी प्रदेशसभा सदस्य उमा बादीले गरिरहेकी थिइन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकार सँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरे ।
‘सरकारले २०६५ सालमा बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनः स्थापनाको घोषणा गरेको थियो,प्रदेश सभा सदस्य बादीले भनिन्,‘बादी समुदायका महिलाले २०६४ भदौ १ देखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिमढोका अगाडि अर्धनग्न जुलुस निकालेर सङ्घर्ष गरेपछि २०६५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले यौन शोषण मुक्त गर्नाका साथै पुनः स्थापना समेत गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म निर्णय कार्यान्वयन भएको छैन।’
सरकार सँगको सहमति कार्यान्वयनमा नआउँदा कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य छन् । बादी समुदायको गाँस, बास र कपासको व्यवस्था गर्ने सरकारी निर्णय कार्यान्वयनमा नआएको शिवराज रानावादीले बताए ।
‘माग सुनुवाइको लागी पटक–पटक अनुरोध गर्दा पनि समस्या ज्युँका त्यू छन्,उनले भने,‘सरकारले बादी समुदायका महिलाहरूलाई स्वस्फुर्त यौन पेसाका लागि स्वीकृति दिनुपर्छ ।’
‘सरकारलाई राजश्व तिर्न तयार छौ । यौन पेसाको विकल्प नभए लाइसेन्स दिएरै स्वीकृति दिनुपर्छ,’डोटीबाट मुख्यमन्त्री कार्यालय पुगेकी बसन्ती बादीले भनिन्,‘हाम्रा लागी सरकार छैन।’ ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले सहमति कार्यान्वयन र माग पुरागर्नका लागी सक्दो पहल गर्ने आश्वासन दिए ।