कैलाली, बैशाख – राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजना तथा स्वास्थ्य निर्देशनालय डोटी र स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाको कारागारमा क्षयरोग रोकथाम र उपचारको लागि विशेष शिविर सञ्चालन गरिएको छ।
यो खोजपडतालमा कारागारमा रहेका ६३३ जना कैदी बन्दीहरूमध्ये ५३३ जनाको एक्स-रे परीक्षण गरिएको छ। त्यस्तै, क्षयरोगको उच्च जोखिम देखिएका १३ जनाको खकार परीक्षण पनि गरिएको छ। परीक्षणपछि पहिचान भएका बिरामीहरूको तत्काल उपचार प्रक्रिया सुरु गरिने जानकारी दिइएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारीको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानले कारागारको स्वास्थ्य सेवा सुधार गर्ने लक्ष्य राखेको छ। डा. तिवारीले नेपालजस्तो क्षयरोगको उच्च प्रकोप दर रहेको देशमा कारागारभित्रको जोखिमलाई कम गर्न यस्ता शिविरले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने कि यदि कारागारमा एक व्यक्तिलाई पनि क्षयरोग देखियो भने अरूलाई सर्न सक्ने सम्भावना उच्च हुने भएकाले प्रभावकारी रोकथाम आवश्यक छ।
यस अभियानमा डा. रेश्मा बुढा, रेडियोग्राफर मुकेश मिकलम, बीरेन्द्र चन्द तथा सेती प्रादेशिक अस्पतालको ल्याब टोली खटिएको थियो। स्वास्थ कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक तेजविक्रम शाहीले पनि यस कार्यक्रमको सफलतामा योगदान पुर्याएको जानकारी गराएका छन्।