सिरहा । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गतेमात्र सलहेस फुल फुल्ने सिरहाको लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भिड लागने गर्छ।
लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारी राजा सलहेसको ऐतिहासिक गाथा बोकेको छ। राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फुलबारीको मध्यभागमा हारमको एउटै रुखमा दुईवटा हाङ्गामा पुस्तौ पुस्तादेखि प्रत्येक वर्षको १ वैशाखमा एक जोडी माला देखिने गरेको जनविश्वास छ।
पर्यटकीय महत्व बोकेका सलहेश फुलबारीमा स्थानीय तहले संरक्षण नगर्दा वर्षभरी नै पर्यटक भित्राउन सकेका छैनन्। पुस्तौँदेखि पर्यटकीय महत्व बोकेका जिल्लाको विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फुलबारी एक हो।
यो फूल नयाँ वर्षका अवसरमा मात्र फूल्ने भएकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको ठूलो भिड लाग्ने गरेको छ। सलहेश फूलवारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरु गुनासो गर्न थालेका छन्। सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास रहेको छ। फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु छन।
हरेक वर्षको १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला लाग्ने गर्दछ। सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतिक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखा पर्ने जनविश्वास रहिआएको छ।
नयाँ वर्षको पहिलो दिन मात्र फूल फूल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सिमित रहेको छ। फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फूल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ।
अचम्म के छ भने साँझपख यो फूल ओइलाएर जान्छ। युवायुवतीहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन्। फुलवारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफै उत्पन्न हुने गरेको बताइन्छ ।