धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमध्ये १२ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । तीमध्ये सात क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जित हासिल गर्दै अग्रस्थान बनाउँदा अनेरास्ववियुले पाँच क्याम्पसमा विजय प्राप्त गरेको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले भने अहिलेसम्म कुनै क्याम्पसमा सफलता हासिल गर्न सकेको छैन ।
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघका भुवन महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी संयुक्त अखिल प्यानलका बमबहादुर विश्वकर्माले ३७८ मत प्राप्त गरे । सचिव पदमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा नेविसंघकी सोनिया शाह ४४५ मत ल्याएर निर्वाचित भइन् । दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघविरुद्ध सबै गठबन्धन एकजुट भएर चुनाव लडेका थिए ।
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीमा नेविसंघका रोशन भट्ट प्यानलसहित विजयी भएका छन् । भट्टले १०१ मत ल्याएर सभापतिमा निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत प्राप्त गरे । सचिव पदमा नेविसंघकी राधा बोहरा ८५ मतसहित विजयी भइन् भने कोषाध्यक्षमा नेविसंघकी मीना चन्द ९१ मत ल्याएर निर्वाचित भइन् ।
बैतडीकै मणिलेक क्याम्पसमा पनि नेविसंघ प्यानलसहित विजयी भएको छ । सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा ४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत प्राप्त गरे । सचिव पदमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भए भने कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन् ।
डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा पनि नेविसंघको प्यानल नै विजयी भएको छ । सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत प्राप्त गरे ।