दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहनुभएको छ । दाङको राप्ती गाउँपालिका वडा –६ निवासी ५१ वर्षीया चौधरीले रुकुमपश्चिमको चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइई दिइरहनुभएको हो ।
ऐच्छिक प्रथम अर्थशास्त्र र ऐच्छिक द्वितीय शिक्षा बिषय रोजेर उहाँ खुलातर्फबाट एसइईमा सहभागी हुनुभएको छ । उमेर र पदले शिक्षाको बाटो नछेक्ने भएकाले आफूले यो बेलामा एसइई दिन रुकुम आएको उहाँले बताउनुभयो ।
उपाध्यक्ष चौधरी पूर्व कमलहरी हुनुहुन्छ । गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएपछि उहाँले सार्वजनिक बिदाको दिन सरकारी गाडि नचढ्ने घोषणा गर्नुभएको थियो । यसका साथै आफ्नै साइकल चढेर सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेपछि उहाँको चर्चा भएको थियो ।
चौधरीले खुलातर्फबाट परीक्षामा सहभागी हुनुभएको केन्द्राध्यक्ष यदु रानाले जानकारी दिनुभयो । उहाँले अनुशासित र मर्यादितपूर्वक परीक्षामा नियमित सहभागि भएको केन्द्राध्यक्ष रानाले बताउनुभयो । एसइई दिन उहाँले शीतल माविबाट फाराम भर्नुभएको थियो । केन्द्राध्यक्ष रानाले शीतल माविमा रहेको परीक्षा केन्द्रबाट ३०५ जना विद्यार्थीले खुलातर्फबाट परीक्षा दिइरहेको जानकारी दिनुभयो ।