धनगढी – विगत १० दिनदेखि सेती प्रादेशिक अस्पातलमा उपचाररत एक बालिकाको उपचारमा समस्या भएको छ । ३० माघमा आगोले जलेर घाइते भएकी डोटीको सायल गाउँपालिका–६ की ३ वर्षीया बालिका अन्जली खातीको उपचारमा आर्थिक अभाव भएको हो ।
प्रादेशिक अस्पतालले धनगढीमा उपचार सम्भव नभएको भन्दै बालिकालाई थप उपचारका लागि काठमाडौँ लैजान भनेर रेफर गरिसकेको छ तर आर्थिक अभावका कारण अहिलेसम्म बालिकालाई अन्यत्र लैजान नसकिएको उनको बुवा कैलाश खातीले बताए ।
डाक्टरले अस्ती नै छोरीलाई थप उपचारका लागि काठमाडौँ लैजान भनेको थियो तर एम्बुलेन्सका लागि पैँसा छैन,’ उनले भने, ‘आर्थिक अवस्था पनि कमजोर छ । भारतमा रोजगारी गरेर पेट पाल्ने मान्छे हुँ । अब के गर्ने तनावमा परेको छु ।’
भारतमा रोजगारी गर्दै आएका खाती शुक्रबार मात्र धनगढी आइपुगेका छन् । उनले एम्बुुलेन्सका लागि वडा कार्यालयलाई आग्रह गरेपनि तत्काल आफैँ व्यवस्थापन गर्न आग्रह गरेको सुनाए ।
बालिका उनकी आमाले गोठपात गर्ने बेला आगोमा परेर जलेकी थिइन् । डोटीमा समेत उपचार गराइएको थियो तर सुजङ अस्पतालले धनगढी रेफर गरेको थियो । बालिकाको छातीदेखि मुनीको शरीर जलेको छ भने मुखमा पनि जलेको छ ।
बालिकाको परिवारले उनको उपचारका लागि सहयोग गरिदिन अपिल गरेको छ ।