बाजुरा– बाजुरामा बिहेभोजमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका– ८ मा आफन्तको बिहेभोजमा झडप हुँदा २७ वर्षिय रणबहादुर थापाको मृत्यु भएको हो ।
नगरपालिकाकै वडा नं। ९ निवासी थापा आफन्त रामबहादुर खड्काका छोराको बिहेमा भोज खानका लागि गएका थिए । उक्त स्थानमा दुईपक्षबिच झडप हुँदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।
राति ११ बजेपछि दुई पक्षबीचको विवादपछिको झडपमा थापा घाइते भएका थिए । गम्भीर घाइते थापाको उपचारका क्रममा बयालपाटा अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका छन ।
उनीहरूलाई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए । मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ ।