बाजुरा- बुढीगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१र८२ अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानका निर्माण योजनाहरू फिर्ता पठाएको छ।
नगर कार्यपालिकाको गत पुस २५ गते बसेको बैठकको निर्णयअनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना कार्यान्वयन गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको हो।
नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, प्रकाशबहादुर शाह, पूर्वप्रदेश प्रमुख देवराज जोशीको गृहपालिकामा योजनाहरू कार्यान्वयन हुन नसक्दा फिर्ता गरिएका हुन्। बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार योजनाहरू विकासमुखी नभएको हुँदा प्रदेशलाई नै फिर्ता पठाइएको हो।
बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चार जस्ता आवश्यक योजनाहरू प्राथमिकतामा छन्, तर प्रदेश सरकारले आवश्यकताबेगर योजना छनोट गरेको छ। कार्यकर्ता पोस्ने र व्यक्तिपिच्छे योजना दिने प्रवृत्तिका कारण ती योजनाहरू फिर्ता गर्नुपरेको हो बानियाँले बताए।
उनका अनुसार बुढीगङ्गा नगरपालिकाले १० लाख रुपियाँभन्दा माथिका निर्माण योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने नीति लिएको छ। तर, उपभोक्ताले ठेक्का अनुसार काम गर्न अस्वीकार गरेपछि स्वयम् प्रदेश सरकारलाई नै योजना फिर्ता बुझाइएको उनले जानकारी दिए।
प्रदेश सरकारले बुढीगङ्गा नगरपालिकामा २५ लाख रुपियाँ बराबरका विभिन्न योजना छनोट गरेको थियो।