धनगढी – नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पत्रकारिताले समाजमा व्याप्त विकृति विस्थापित गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल, कैलालीले संगठनको २७औँ स्थापना दिवसका अवसरमा धनगढीमा आयोजना गरेको ुप्रेस र पार्टीको अन्तरसम्बन्धु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टले खोजमूलक पत्रकारिताको महत्वलाई विशेष रूपमा उठान गरे।
उनले अध्ययनशील र खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पत्रकारिताले समाजको विकृति हटाउने दिशामा अगाडि बढ्नुपर्ने बताए। साथै, व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने प्रवृत्ति रोक्नुपर्ने भन्दै पत्रकारिताले समाजको मनोविज्ञान, आवश्यकता र माग बुझेर समसामयिक समाचार सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिए।
लोकतन्त्रको सुदृढीकरणमा सञ्चारको भूमिका : राना
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानाले केही तत्वहरूले स्टन्टबाजी गर्दै व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरिरहेको आरोप लगाए। उनले नेताहरूको योगदानलाई बेवास्ता गरेर कुप्रचार गर्ने प्रवृत्तिप्रति सचेत रहनुपर्ने उल्लेख गरे।
एमाले पोलिटब्युरो सदस्य लिला भण्डारीले राजनीतिक दलविरुद्ध हल्लाका भरमा स्थापित भएका शक्तिहरूले समाजमा भ्रम फैलाइरहेको र सञ्चारमाध्यमले यस्ता कुप्रचारलाई चिर्ने भूमिका खेल्नुपर्ने धारणा राखिन्।
एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोष थापा शर्माले पत्रकारिताले तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै गलत सूचना प्रवाहले भ्रम सिर्जना गर्ने भएकाले पत्रकारलाई जिम्मेवार बन्न आग्रह गरिन्।
सकारात्मक समाचारको प्रवर्द्धन आवश्यक : चौधरी
एमाले केन्द्रीय सदस्य गौरीशंकर चौधरीले सञ्चारमाध्यमहरूले नकारात्मक मात्र नभई सकारात्मक समाचारलाई पनि स्थान दिनुपर्ने सुझाव दिए। एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले पत्रकारले पेशागत मर्यादाभित्र रहेर राजनीतिक दल र सरकारलाई खबरदारी गर्नुपर्ने तर, राम्रा कामलाई पनि उजागर गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनक सिंह विष्टको अध्यक्षतामा विभिन्न सञ्चारमाध्यममा क्रियाशील प्रेस चौतारी निकट पत्रकारहरूले पत्रकारहरूको पेशागत सुरक्षा र व्यवसायिकता प्रवर्द्धनका लागि राजनीतिक दल र सरकारले पहल गर्नुपर्ने सुझाव दिए।
अन्तरक्रिया कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभागका सदस्य हेमन्त पौडेल, प्रदेश प्रचार तथा प्रकाशन विभाग उपप्रमुख मात्रिका तिमिल्सिना, प्रदेश कमिटी सदस्य करन ताम्राकार, कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, उपाध्यक्ष लोकेन्द्रबहादुर शाही, उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट, प्रेस चौतारीका केन्द्रीय सदस्य श्याम भट्ट, केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना, केन्द्रीय सदस्य दिलबहादुर छत्याललगायत नेताहरूको उपस्थिति थियो।
एमाले प्रचार तथा प्रकाशन विभागको समन्वयमा आयोजित कार्यक्रममा विभाग प्रमुख चुडामणी भट्टले विषयवस्तुमा प्रकाश पारे भने प्रेस चौतारी कैलालीका उपाध्यक्ष लोकुसिंह ठकुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। प्रेस चौतारी नेपालले प्रत्येक वर्ष २२ माघलाई आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको छ।