मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाले आगामी माघ २३ गतेदेखि ३० गतेसम्म धनगढी-१, पशुपति टोलस्थित महोत्सवस्थलमा श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ २०८१ को आयोजना गर्ने जानकारी गराएको छ। मानवसेवा आश्रमको आफ्नै भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने लक्ष्यसहित आयोजना गर्न लागिएको महायज्ञको तयारीबारे जानकारी दिनका लागि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख संयोजक मदनबहादुर कुँवरले महायज्ञको औचित्य र आवश्यकताबारे प्रकाश पार्नुभयो।
सहयोगापेक्षीहरूका लागि स्थायी आश्रय गृह निर्माण गर्ने लक्ष्य
२०७५ साल मंसिरमा धनगढी-५, तारानगरमा घर भाडामा लिई सेवा प्रारम्भ गरेको मानवसेवा आश्रमले हालसम्म सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ४०० भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन तथा सहयोगापेक्षी सडकमानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको छ। हाल धनगढी उपमहानगरपालिका-५ र १५ मा अवस्थित दुई सेवा केन्द्रहरूबाट ८० जना सहयोगापेक्षी व्यक्तिहरूलाई खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा सेवा प्रदान गरिरहेको आश्रमले अब आफ्नै भवन निर्माण गरी स्थायी रूपमा यो सेवालाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
महायज्ञको खर्च ३५ देखि ४० लाखसम्म पुग्ने अनुमान
पत्रकार सम्मेलनमा आयोजकहरूले महायज्ञ सञ्चालनका लागि अनुमानित खर्च ३५ देखि ४० लाख रुपैयाँसम्म पुग्ने जानकारी गराउँदै यस कार्यमा सुदूरपश्चिम प्रदेशवासी, उद्योगी-व्यवसायी, संघसंस्था र दाताहरूको योगदान अपरिहार्य रहेको बताए। महायज्ञबाट संकलित रकम मानवसेवा आश्रमको आफ्नै भवन निर्माण तथा सेवा केन्द्रहरूको थप व्यवस्थापनमा खर्च गरिनेछ।
महायज्ञका विशेष कार्यक्रमहरू
महायज्ञ अवधिभर विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक र प्रेरणादायी कार्यक्रमहरू सञ्चालन हुनेछन्।
कथा वाचन: चर्चित कथावाचक भास्कर कमलनयन गौतमद्वारा प्रत्येक दिन बिहान ११:३० देखि दिउँसो ४:३० सम्म श्रीमद्भागवत कथा वाचन
योग शिविर: पतञ्जली योगपीठका केन्द्रीय प्रशिक्षक लवदेव मिश्रको विशेष सत्र
विद्यार्थीका लागि सकारात्मक सोच विकास कार्यक्रम
राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा भजन-कीर्तन र सांस्कृतिक प्रस्तुति
सहयोगापेक्षी सडक आश्रित मानवको वास्तविक अवस्था झल्काउने नाटक प्रदर्शन
स्वास्थ्य शिविर: महायज्ञमा सहभागी भक्तजनहरूको स्वास्थ्य परीक्षण
फोटो प्रदर्शनी: २० जिल्लाका २६ सेवा केन्द्रहरूको गतिविधि झल्काउने विशेष फोटो प्रदर्शनी
सहयोग गर्नेहरूका लागि सम्मान
महायज्ञमा सहयोग गर्ने उदार मनका व्यक्तिहरूलाई दानको प्रकृति अनुसार सम्मानपत्र, प्रमाणपत्र तथा शिलालेखमा नाम राखिने व्यवस्था गरिएको छ। आश्रमका विभिन्न कक्ष तथा भवनहरू सहयोगदाताको नाममा नामकरण गरिनेछ।
२०८२ भित्र नेपाललाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र’ बनाउने अभियान
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र’ बनाउने महाअभियान चलाइरहेको छ। हालसम्म देशभरका २० जिल्लामा २६ वटा सेवा केन्द्रमार्फत ११,१०० भन्दा बढी सहयोगापेक्षीहरूको उद्धार, ५,००० भन्दा बढीको पुनर्मिलन, १,४५० जनाको अन्त्येष्टि, तथा १,८२० जनाको स्थायी संरक्षण गरिएको छ।
सम्पर्क जानकारी
वेबसाइट: https://msa.org.np
फेसबुक: https://www.facebook.com/msa2082
हटलाइन: ९८५५०९९९९५
सम्पर्क व्यक्ति:
रामजी अधिकारी – केन्द्रीय अध्यक्ष, मानवसेवा आश्रम
—
“जसका कोही छैनन्, जसको केही छैन, उनैको सेवामा समर्पित – मानवसेवा आश्रम”