धनगढी – स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको केन्द्रीय अध्यक्षमा कैलालीका हेमराज खड्का सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको सातौँ साधारण सभाले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत खड्का हाल प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुखका रूपमा कार्यरत छन्। साथै, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा समेत महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका खड्काले स्वास्थ्य प्रवर्द्धन तथा शिक्षाको क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन्।
संघको नयाँ कार्यसमिति
अध्यक्ष: हेमराज खड्का (कैलाली)
उपाध्यक्ष: विनोद कुमार अर्याल
महासचिव: कुञ्जप्रसाद जोशी
सचिव: रामकुमार श्रेष्ठ
कोषाध्यक्ष: थलिन्द्र प्रसाद पंगेनी
नयाँ नेतृत्व चयनसँगै संघले नेपालमा स्वास्थ्य प्रवर्द्धन र शिक्षाको क्षेत्रमा नवीन कार्यक्रम सञ्चालन गर्दै संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। संघले नीति निर्माणदेखि शिक्षालय सुधार, स्वास्थ्य सचेतना अभियान, तथा विभिन्न अनुसन्धानात्मक परियोजनाहरूलाई प्राथमिकता दिने जनाएको छ।
“हामी स्वास्थ्य शिक्षाको पहुँचलाई अझ प्रभावकारी बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने छौँ,” नवनिर्वाचित अध्यक्ष खड्काले प्रतिबद्धता व्यक्त गरे।
संघका पदाधिकारीहरूले स्वास्थ्य प्रवर्द्धन र शिक्षाको गुणस्तर वृद्धि गर्दै जनस्वास्थ्य नीति सुधारका लागि सरकारसँग समन्वय गर्ने योजना बनाएको बताएका छन्। नयाँ कार्यसमिति गठनसँगै संघका आगामी कार्यक्रमहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।