धनगढी — सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी फाँटका सिनियर स्वास्थ्यकर्मी राधाकृष्ण चौधरी आइतबार हतास मनस्थितिमा देखिन्थे । उनी एक बिरामीका बारेमा बुझ्न आएका आफन्तलाई धेरै बेर नबस्न, मास्क र फेससिल्ड राम्रोसँग प्रयोग गर्न भनिरहेका थिए । उनी अस्पतालभित्र कोभिड १९ का बिरामीको हाच्छ्युँ र खोक्दा हावामा समेत भाइरस उडिरहेको छ, भन्दै सतर्क गराउँदै थिए ।
उनले उपचारमा खटिएका स्वास्थ्यकर्मी, कुरुवा र भेट्न आउन बिरामीका आफन्तहरूले सावधानी अपनाउन नसके बच्न मुस्किल रहेको बताए । ‘हरघडी बिरामीलाई कहाँ राख्ने तनावमा रहनुपरेको छ,’ उनले भने । उनी आफू इमर्जेन्सी फाँटमा आएका बिरामीहरूलाई ठाउँ मिलाउन व्यस्त देखिन्थे । अस्पतालको इमर्जेन्सी कक्षमा कोरोना पोजिटिभ र अन्य बिरामीले भरिएको थियो । यहाँ बिरामीको कोलाहल र छटपटी मात्रै देखिन्थ्यो ।
उनले आपत्कालीन अवस्थामा आएका बिरामीको पहिलो ‘होल्डिङ सेन्टर’ नै इमर्जेन्सी फाँट भएकाले सबैखाले बिरामी पहिले यही भर्ना हुने गरेको बताए । ‘इमर्जेन्सीबाटै स्वाब लिएर कोरोना परीक्षण गर्न पठाउने गरेका छौं,’ उनले भने, ‘पोजिटिभ पुष्टि भएपछि कोरोना बेडमा भर्ना गर्न पठाउने गरेका छौं ।’ अन्तिम अवस्थामा अस्पताल आउनेहरूको त रिपोर्ट आउने बेलासम्म ज्यान गइसक्ने गरेको उनले बताए ।
‘मैले आफ्नो ३२ वर्षे सेवा अवधिमा यस्तो विपत्ति कहिल्यै देखेको थिइनँ,’ उनले भने । उनका अनुसार २०५१र५२ मा इन्सफ्लाइटिस र औलो पनि महामारीका रूपमा फैलिएको थियो । त्यसबेला पनि बिरामीले अस्पतालमा शय्या यसरी नै भरिएका थिए । उनले भने, ‘तर यस्तो मृत्युको चीत्कार सुन्न परेको थिएन ।’
अहिलेको चुनौती, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफू पनि बच्ने र बिरामीको पनि सेवा गर्नु रहेको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले हालसम्म सेती अस्पतालका १२ स्वास्थ्कर्मी संक्रमित भइसकेको बताए । ‘निको भएर पुनः निडरताका साथ काममा फर्केका छन्,’ उनले भने, ‘यसरी फर्कन नसकेको भए अहिले बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव बढ्थ्यो ।’
बिरामीको छटपटी
अस्पतालमा भर्ना भएका बिरामीलाई आत्मबल बढाइदिने स्वास्थ्यकर्मीबाहेक अरू कोही छैनन् । अधिकांश संक्रमितका कुरुवा पनि कोही छैनन् । ‘मृत्यु शय्यामा रहेझैं भइरहेको छटपटी नजिक पनि कोही नआउँदा मनोबल झन् कमजोर हुने गरेको छ,’ संक्रमित जगदीश सेटीले भने ।
कञ्चनपुर गुलरिया घरभएका सेटीले आफू र आमालाई सास फेर्न गाह्रो भएपछि वैशाख २९ गते अस्पताल भर्ना भएको बताए । ‘सुरुमा नोभा अस्पतालमा भर्ना भएका थियौं,’ उनले भने, ‘त्यहाँ अक्सिजन नपाउने भएपछि सरकारी अस्पताल सेतीमा भर्ना भयौं ।’ उनको घरमा श्रीमती होमआइसोलेसनमा छिन् । बालबच्चालाई आफन्तको घरमा पठाएका छन् ।
उनले सास फेर्न गाह्रो भएर छटपटाउँदा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीसमेत नआइदिँदा ठूलो पीडा हुने गरेको सुनाए । उनले यो साता स्वास्थ्यमा सुधार आएको बताए । तर उनकी आमालाई अझै अक्सिजन चाहिन्छ । ‘अक्सिजनका लागि निकै हारगुहार गर्नुपर्यो,’ उनले भने, ‘आइतबारदेखि मात्रै अक्सिजन मिलेको छ ।’
गोदावरी अत्तरियाका बीरबहादुर बोगटीले सरकारी अस्पताल र स्वास्थ्य चौकी खाली भवन जस्तो लागेको बताए । ‘अस्पतालमा बिरामीले ज्यान जोगाउनभन्दा होमआइसोलेसनमा जोगिएला जस्तो लाग्यो,’ उनले भने, ‘घरमा समयमा त बिरामीले तातोपानी त पाउँथ्यो । यहाँ त समयमा तातोपानीसमेत पाउन सकिएन ।’ उनले अस्पतालमा बिरामीले आफ्नो मन आफैंले बलियो बनाएर राख्न सक्नेहरूले मात्रै कोरोना जितेर घर गएको बताए ।
अस्पतालभित्र हरेक दिन मृत्यु भएर बेड खाली हुन लागेको देख्दा अन्य बिरामीको मन कमजोर भएको आफ्ना दाजुको निधन भएका एक कुरुवा सुनाए । ‘दाजुका लागि चार दिन अस्पताल बसेको थिएँ,’ उनले भने, ‘अस्पताल भर्ना गर्दा दाजुको स्वास्थ्य अवस्था ठिकै थियो । बिरामीको चीत्कार र छटपटी देखेर, सुनेर दाजुको स्वास्थ्यस्थिति बिग्रिएर मृत्युवरण गरे ।’
अस्पतालका सूचना अधिकारी श्रेष्ठले अहिले अक्सिजनको आपूर्ति सहज भएको बताए । पछिल्लो सातामा अस्पतालमा संघीय, प्रदेश सरकार र मनकारीको सहयोगबाट ३६ वटा अक्सिजन कन्टस्ट्रेटर स्थापना भएपछि बिरामीले अक्सिजन पाइरहेको बताए ।
यसैबीच श्रेष्ठका अनुसार कोरोनाको दोस्रो लहरले सेती अस्पतालमा दिनहुँ पाँचरसात जनाको मृत्यु भएको छ । यो साता मृत्युदर घटेको छ । वैशाख १० देखि अहिलेसम्म १ सय २७ कोरोनाका बिरामीको अस्पतालमा मृत्यु भएको छ । अधिकांश बिरामी अक्सिजन नपाएर मृत्यु भएको स्वास्थ्यकर्मीले स्विकारेका छन् । श्रोत : कान्तिपुर/मोहन बुढा ऐर