विराटनगर – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा अझै सक्रिय रहेको भन्दै सक्रिय राजनीतिमा फर्किए नेकपा एमालेमै फर्कने बताएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले विराटनगरमा सोमवार पत्रकारसँगको भेटघाट गर्दै आफूले शिक्षा, स्वास्थ्य, आर्थिक समानता, जलवायु र वातावरणलगायत विषयमा छलफल गरिरहेको र यी सबै विषय राजनीतिभन्दा बाहिर नरहेको बताएकी छन्।
हामी कोही पनि राजनीतिबाट फरक छैनौँ तपाईंहरू कसरी बुझ्नुहुन्छ मैले पछिल्लो समय शिक्षा, स्वास्थ्य, जलवायुलगायत विषयमा जसरी छलफल गरिरहेकी छु‚ ती राजनीतिबाट भिन्न छैनन्‚’ उनले भनिन्, त्यस अर्थमा म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु, दलीय राजनीतिको कुरा त्यसमा अहिले म प्रवेश गरिसकेकी छैन। राष्ट्रिय, अन्तरराष्ट्रिय परिवेशहरू पनि छन्, समय आएपछि कुन दलको राजनीति कसरी गर्ने वा नगर्ने भन्ने होला।
सोमवार दिउँसो विराटनगर आइपुगेलगतै एमालेका विभिन्न तहका नेताहरूसँग बिग होटलमा उनले भेटघाट गरेकी थिइन् भने उनले एमालेका अगुवा महिला, युवा र विद्यार्थी नेताहरूसँग पनि भेटघाट गरेकी थिइन्।
उनले दलीय राजनीतिमा आएको खण्डमा नेकपा एमाले नै आफ्नो रोजाइमा पर्नसक्ने इंगितसमेत गरिन्।
उनले भनिन्, ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो तर छलफलको चरणमा प्रवेश गरेको छैन।’
पत्रकारसँग उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको राजनीतिमा सहभागी भएकोमा आफूलाई खुशी लागेको व्यक्त गरिन्।
उहाँ युवा हुनुहुन्छ अनुभव छ, राजनीति गरेर आउनु भएको हो। म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेको हो। खुशी लागेको छ,’ उनले भनिन्।
पछिल्लो समय सञ्चारमाध्यमहरुमा राजनीतिक सक्रियतालगायत विषयमा आएका समाचार‚ चर्चा सही नभएको र कसैले भ्रम नराख्न पनि पूर्वराष्ट्रपति भण्डारीले सबैसँग अनुरोध गरिन।
उनी ४ दिन पूर्वी नेपालका विभिन्न ठाउँमा रहने बताइएको छ। उनले भनिन्, ‘यसपटक शिक्षासम्बन्धी धेरै कार्यक्रमका लागि म यहाँ आएकी छु।