आज २५६५औँ बुद्ध जयन्ती । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।
उनले २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै बुद्धका प्रेरणादायी मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा विश्व शान्तिका लागि समेत मद्दत पुग्ने बताएकी छन् ।
वैशाख पूर्णिमा तिथिको दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको तिथिलाई बुद्ध जयन्तीका रूपमा मनाउने गरिएको छ ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीबाट बच्न सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेकी छन् ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उभौली पर्वको अवसरमा समेत शुभकामना व्यक्त गरेकी छन् । उनले स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत समुदायमा शुभकामना व्यक्त गरेकी हुन् ।