अत्तरिया – नेकपा एमाले गोदावरीका ४६ जनाले राजीनामा दिएको विषय किनारा नलाग्दै फेरी २२५ जनाले पार्टी छोडेको चर्चा चलेको छ । एमाले सचिव समेत रहेका लेखराज भट्टको गृह पालिकामा ४६ जनाले राजीनामा दिएको विषयले राष्ट्रिय स्तरमै हलचल ल्याएका बेला पुनः २२५ जना सङ्गठित सदस्यले राजीनामा दिएको दाबी गरिएको छ । पछिल्लो पटक भीम रावललाई कारबाही गरिएपछि त्यसको असरका रूपमा सचिव भट्टको क्षेत्रबाट २२५ जनाले पार्टी छोडेको दाबी गरिएको छ ।
जसमा एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य हुँदै प्रदेशको मन्त्री समेत भइसकेका कृष्ण राज सुवेदी र उनको छोरा समेत रहेका गोदावरी नगर इन्चार्ज भीष्म सुवेदीलाई पार्टीले नै निष्कासित गरेको भए पनि उनले आफूसँगै २२५ जनालाई पार्टी परित्याग गराएको बताएका छन् । यस क्षेत्रमा एमालेको शक्तिशाली नेताका रूपमै चिनिँदै आएका सुवेदीले एमाले छोडेर भीम रावलको मातृभूमि जागरण अभियानमा जोडिएको घोषणा गर्दा आफू सँगै एमालेको ठुलो पंङ्ति पनि लगेको दाबी गरेका छन् । यद्यपि एमालेले भने त्यसको प्रतिकार गर्दै उनको परिवारका ५–७ जनाले मात्रै पार्टी छोडेको दाबी गर्दै विज्ञप्ति निकालेको छ । यद्यपि भीम रावलको पार्टीले आकार नलिँदै भएको यस किसिमको हलचलले आगामी दिनमा कुन रूप लिने भन्ने यकिन छैन ।
हुन त केही दिन अघि लेखराज भट्टले नै पार्टी छोडेको प्रचार गरिएको थियो । उक्त प्रचारको तत्काल खण्डन गरिए पनि त्यसपछि पनि उनको क्षेत्रबाट पार्टीमा निरन्तर क्षयीकरण भइरहेको छ ।