सरकारले जङ्गली रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणापछि अब खेतबारीमा पस्ने रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र समात्न औपचारिक रुपमा कानूनी बाटो खुलेको छ ।
यसरी बाँदर र बँदेल धपाउँदा र लखेट्दा मरेमा किसानलाई कानूनी कारबाही हुनेछैन । तर नियतवश भने मार्न पाइँदैन । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ अनुसार निजी खेत, खला, बारीमा आउने जङ्गली रातो बाँदर र बँदेललाई राजपत्रमा सूचना प्रकाशित भएको मितिले १ वर्षसम्मको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।