धनगढीमा पूर्व सिकाइ मान्यतामा आधारित परामर्शकर्ता सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिद्वारा आयोजित कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख दयाराम आचार्यले गरेका हुन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश उपनिर्देशक देश सिंह धामीले सीप भएका तर प्रमाणपत्र नपाएका युवाहरूलाई कसरी परामर्श दिने भन्ने विषयमा मन्तब्य दिएका छन् । NVQS व्यवस्थापक डिल्लीराज भट्टले परामर्शकर्ताले तालिममा सहभागीहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा जानकारी गराए। NSTB उपनिर्देशक शारदा धिमिरेले सीप परीक्षण क्रियाकलापको कार्यसम्पादन प्रक्रियाबारे जानकारी दिइन्।
देशभरि व्यावसायिक योग्यता प्रणाली (NVQS) लागू भएसँगै सीप भएका तर औपचारिक प्रमाणपत्र नपाएका व्यक्तिहरूलाई मान्यता दिलाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। उपनिर्देशक धामीले तीन दिने प्रशिक्षणबाट सहभागीहरूले आवश्यक ज्ञान, सीप र कार्ययोजनाबारे स्पष्ट जानकारी पाउने विश्वास व्यक्त गरे।
सीप सिकेर रोजगारीमा प्रवेश गर्न चाहनेहरूका लागि प्रमाणिकरण महत्त्वपूर्ण हुने भएकाले परामर्शकर्ताहरूको भूमिका महत्त्वपूर्ण रहने उनले बताए। सहभागीहरूले तालिमबाट व्यावहारिक अनुभव लिई समाजमा बेरोजगार तथा सीप भएका व्यक्तिहरूलाई उचित मार्गदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ।