सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा धनगढीमा २ दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले प्रदेशको समग्र विकास र सकारात्मक परिवर्तनका लागि प्रदेश सरकार र स्थानिय तहबीच सहयोग, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताए। संघीय लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच सहकार्य अनिवार्य रहेको उहाँले जोड दिए।
कार्यकारी निर्देशक गेहेन्द्र बमका अनुसार कार्यक्रममा प्रदेशका ८८ वटै स्थानिय तहका प्रतिनिधि तथा प्रदेश सरकारका सम्पूर्ण माननीयहरूको सहभागितामा अन्तर सरकारको समन्वय र सकारात्मक परिवर्तनका कार्यहरूबारे विशेष छलफल गरिनेछ।
नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष तथा गोदावरी नगरप्रमुख बिरेन्द्र भट्टले यो कार्यक्रमले स्थानिय सरकारको क्षमता विकास गर्दै जिम्मेवारीपूर्ण विकास र परिवर्तनको मार्गचित्र तयार गर्न सहयोग पुर्याउने बताए।