काठमाण्डौ – अघिल्लो दिन दिउँसो २ बजे धरानबाट काठमाण्डौका लागि छुटेको रात्रिबसका चालक राजकुमार ठकुरी नागढुङ्गा नाका हुँदै भोलिपल्ट बेलुकी ६ बजे मात्र कलङ्की आइपुग्नुभयो । सामान्य बेला १२ घण्टामा धरानबाट काठमाण्डौ पुग्न सकिन्छ । तर हिजोआज १५ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।
सडकका ठाउँठाउँमा खाल्डाखुल्डी छन् । सडकको पहिरो पन्छाए पनि पहिरो खसेको ठाउँमा फेरि ढुङ्गा र माटो खस्न ठिक्क परेका छन् । २२ वर्षदेखि धरान–काठमाण्डौ रात्रिबस चलाइरहेका राजकुमार बिग्रिएको बाटोमा गाडी चलाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
दैनिकजसो धरानबाट काठमाण्डौ आउजाउ गर्दा नागढुङ्गाबाट मुग्लिनसम्मको बाटो कष्टकर हुने गरेको उहाँको अनुभव छ । ‘एक पटक यात्रु ल्याउँदा बाटोकै कारणले गाडी मर्मतमा आठदेखि १० हजार रुपैयाँसम्म खर्च हुन्छ’, राजकुमार भन्नुहुन्छ ।
गाडीबाट आएको आम्दानीबाट समयमै कर बुझाउँदा पनि राम्रो बाटोमा गाडी चलाउन नपाएको उहाँको गुनासो छ ।
असोज दोस्रो हप्ताको पहिरोले नागढुङ्गा नाका तीन दिनसम्म बन्द रह्यो । ३५ जनाको ज्यान जाने गरी तीन वटा गाडी पुरिएको नागढुङ्गा नजिकैको झ्याप्ले खोलामा बल्लतल्ल पहिरो पन्छाए पनि जोखिम उस्तै छ ।
सडक फराकिलो बनाउने काम पनि भइरहेकाले कतै खाल्डाखुल्डी र कतै धूलोले यात्रा कष्टकर हुने गरेको छ ।
गोरखाको शहीद लखन गाउँपालिकाबाट बस चढेर काठमाण्डौ आउनुभएकी मनिषा दुवाडी नयाँ बसपार्कमा धुलाम्मे भएको झोला टकटक्याउँदै गरेको अवस्थामा भेटिनुभयो ।
‘गोरखाबाट मुग्लिनसम्म आउँदा बाटो ठीकै लाग्यो । तर यता लागेपछि जताततै भत्किएको र बिग्रिएको मात्र । काठमाण्डौ नजिकैको बाटो त गाउँको बाटोभन्दा पनि कच्ची र बिग्रिएको छ ।
धुलोले हामीजस्ता युवालाई त रुघाखोकी लाग्ने बनायो, बुढाबुढी र बालबालिकालाई झनै गाह्रो बनाउँछ’, उहाँले भन्नुभयो ।
काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा ओहोरदोहोर गर्ने यात्रु र चालकको यो साझा व्यथा हो । अरू सडकको अवस्था पनि नागढुङ्गाभन्दा फरक छैन । काठमाण्डौलाई पूर्वसँग जोड्ने बीपी राजमार्गमा झन् धेरै समस्या छ ।
असोज दोस्रो हप्ताको बाढी पहिरोले चौकीडाँडादेखि नेपालथोकसम्म सडकमा क्षति पुर्याएपछि बीपी राजमार्ग दुई हप्तासम्म बन्द भयो । ठाउँठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ । बगरको अप्ठ्यारो र धुलाम्मे बाटोमा यात्रा निकै कष्टकर छ ।
गाडी चालकलाई पनि उस्तै समस्या छ । काठमाण्डौदेखि सङ्खुवासभाको खाँदबारीसम्म माइक्रोबस चालाउने चालक लालबहादुर तामाङ यात्रामा दुईदेखि तीन घण्टा बढी लाग्ने गरेको बताउनुहुन्छ ।
‘चौकीडाँडादेखि नेपालथोकसम्मको बाटो कच्ची छ, गाडी र यात्रु धुलाम्मे हुन्छन्,’ उहाँले भन्नुभयो, ‘सडक एकतर्फी मात्र चल्ने भएकाले जाम पनि बढेको छ ।
असोजको बाढी पहिरोले काठमाण्डौलाई हेटौँडासँग जोड्ने पाँच वटै सडक अवरुद्ध भए । त्रिभुवन राजपथको हेटौँडा–पालुङ–नौबीसे खण्ड, कान्ति लोकपथअन्तर्गत आँपचौर खण्ड, हेटौँडा–ठिङ्गन–टीकाभैरव, दक्षिणकाली–छैमले–सिस्नेरी खण्ड, कुलेखानी–फाखेल–फर्पिङ र फाखेल–हुमाने–चखेल–मातातीर्थ–सतुङ्गल सडक खण्डका ठाउँठाउँमा क्षति पुर्यायो । सबै सडक खुलाउन १० दिनसम्म लाग्यो । अहिले सडक सञ्चालनमा आए पनि यात्रा सहज छैन ।
हेटौँडा–काठमाण्डौ जीप चलाउने सुजन सुनार सडक बिग्रिएका कारण गाडी चलाउन अप्ठ्यारो हुने गरेको बताउनुहुन्छ । ‘बाटो बिग्रिएका कारण गाडीमा टुटफुट धेरै हुन्छ,’ उहाँले भन्नुभयो, ‘यात्रु बोकेर कमाएको आधी पैसा गाडी बनाउनमै जान्छ ।’
रौतहटबाट काठमाण्डौसम्म जीप चलाउने चन्दु चौधरी हेटौँडा–फर्पिङ–दक्षिणकाली हुँदै बल्खुसम्मको बाटो प्रयोग गर्नुहुन्छ ।
बिग्रेको सडकमा गाडी गुडाउँदा जीपको पाटपुर्जामा क्षति पुग्ने गरेको छ । ‘धेरै पटक बाटो बन्द गरेरै मर्मत भइरहेको हुन्छ, बाटो बने पनि छिट्टै बिग्रिरहन्छ,’ उहाँले भन्नुभयो, ‘भत्किएको बाटोका कारण यात्रु पनि धुलाम्मे हुन्छन् ।’
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बस्तीपुर बस्ने अशोक सुनार कामको सिलसिलामा काठमाण्डौ आउजाउ गरिरहनुहुन्छ ।
ठाउँ–ठाउँमा भत्किएको सडकका कारण धूवाँधूलोले स्वास्थ्यमा समेत असर पारेको उहाँले बताउनुभयो । ‘बाटोको दुरी छोटो छ भनेर यो बाटोबाट आउजाउ गर्छु तर साह्रै असहज लाग्छ,’ उहाँले भन्नुभयो, ‘सरकारले नागरिकको कुरा सुन्न र समस्या समाधान गर्न तत्पर देखिँदैन, सरकार निकम्मा भएर बसेको छ ।’
काठमाण्डौ जोड्ने मुख्य सडक बन्द हुँदा विकल्पका रूपमा सीतापाइला–धार्के र टोखा–छहरे–गल्छी सडक प्रयोगमा आएको छ ।
तर यी सडकमा ठूला गाडी चलाउन मिल्दैन । ठूला बस र मालवाहक गाडीका लागि मुग्लिन–नागढुङ्गा तथा पूर्वदेखि काठमाण्डौसम्म ओहोरदोहोर गर्न बीपी राजमार्ग नै सजिलो र भरपर्दो सडक हो । तर पहिरोले भत्काएको बीपी राजमार्ग स्थायी रूपमा बनाउनै समस्या छ । मुग्लिन–नारायणगढ सडकमा पनि पानी पर्नेबित्तिकै फेरि पहिरो खस्ने डर छ ।
पानी परेर राजमार्ग बन्द हुने अवस्था आउन नदिन वर्षाअघि नै सडक मर्मतको काम सक्ने गरी तयारी भइरहेको सडक विभागका महानिर्देशक रामहरि पोखरेल बताउनुहुन्छ ।
राजमार्गका सडकमा परेका खाल्डा पुर्ने र पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो । ‘अहिले हामीले पानी परेको बेलामा पनि सञ्चालन गर्न सकिने गरी वैकल्पिक सडकलाई विस्तार र मर्मत गर्ने योजना बनाएका छौँ’,
महानिर्देशक पोखरेलले भन्नुभयो, ‘यो योजनाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौँ । बजेट व्यवस्थापन हुनेबित्तिकै काम अगाडि बढ्छ ।’
काठमाण्डौबाट हेटौँडा जोड्ने फाखेल र दक्षिणकालीको सडकमा बजेट अपुग हुँदा काम गर्न नसकेको महानिर्देशक पोखरेलले बताउनुभयो ।
‘नागढुङ्गाबाट नौबीसेसम्मको सडकमा काम भइरहेकाले केही असहज छ’, उहाँले भन्नुभयो, ‘निर्माणको चरणमा भएको हुँदा गाडी चलाउन गाह्रो भएको छ । हामीले ठेकेदार कम्पनीलाई छिटो सक्न ताकेता गरिरहेका छौँ ।’