बर्दिया – परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बर्दियाको धनौरा नाका खुलाउन पहल गर्ने बताउनुभएको छ । ठाकुरबाबा नगरपालिकामा मेयर तिलकराम थारु, मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटलगायतसँगको छलफलका क्रममा परराष्ट्रमन्त्री राणाले धनौरा नाका खोल्न पहल गर्ने बताउनुभएको हो ।
परराष्ट्रमन्त्री राणाले महत्त्वपूर्ण विषय उठान गरेको बताउँदै आफूले गम्भीर भएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारतले सानो नाका छोटी भन्सारहरू खुलाउन मानिरहेको छैन, विभिन्न ठाउँमा छोटी भन्सार खुलाउने माग बढेको छ, तैपनि धनौरा नाकाका लागि विशेष पहल गर्ने उहाँले बताउनुभयो ।
भेटमा मेयरद्वय लम्साल र भाटले नेपाल–भारत सिमानामा पर्ने पुरानो छोटी भन्सार बर्दियाको धनौरा नाकालाई छिटो खुलाउनुपर्ने तथा बर्दियाको भुरीगाउँ–तेलपानी हुँदै सुर्खेत जोड्ने सडक निर्माण तथा सडकमा पर्ने रुख कटानलाई सहज बनाउनुपर्ने माग राख्नुभएको छ ।
यस्तै उहाँहरूले मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि जङ्गल किनारमा हात्ती छेकवार पर्खाल निर्माणका लागि थप बजेट बढाउनुपर्ने, पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा आकाशेपुल बनाउनुपर्ने, विश्व बैंक र एशियाली विकास बैंकका योजनाहरू ठाकुरबाबा र मधुवन नगरपालिकासहित बर्दियाका अन्य पालिकामा लागू गराउन आग्रह गर्नुभएको छ ।
जवाफमा मन्त्री राणाले विकास निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने देखिएको तर सरकारसँग थोरै बजेट हुँदा समस्या रहेको बताउनुभयो । विश्व बैंक र एशियाली विकास बैंकका परियोजना बर्दियामा ल्याउन पहल गर्ने उहाँको भनाइ छ ।