धनगढीः मोटरसाइकल दुर्घटनामा परी कैलालीको कैलारी गाउँपालिका–१ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको मृत्यु भएको छ।
कैलारी गाउँपालिका ३ उत्तरभर्री निवासी कमलेश चौधरीको गए राति मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो। जिल्लाको धनगढी उप–महानगरपालिका–१८ डिपो बजारस्थित धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको अवस्थामा उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लपको पछाडिबाट ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार धनगढी उपमहानगरपालिका–१४ ‘बी’ गाउँका सन्तोष सार्कीले चलाएको डल्लबमा मोटरसाइकल ठोक्किन गएको हो। घाइते चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ। डल्लब र डल्लब चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।