राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तह उपनिर्वाचन परिचालनका लागि जिम्मेवारी तोकेको छ ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले सातै प्रदेशका लागि जिम्मेवारी तोकिएको छ ।
जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा कमाण्डरको रूपमा खटाएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा छन् । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका रवि बिनानै रास्वपा उपनिर्वाचनमा होमिएको हो ।
त्यस्तै, पार्टीबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उमेदवारी दर्ता गर्न आह्वान गरिएको छ ।
त्यस्तै, कात्तिक २५ गते साँझ ८ बजेसम्म प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन, कात्तिक २६ गते साँझ ५ बजेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबीविरोध, कात्तिक २७ गते साँझ ५ बजेसम्म उम्मेदवारसँग छलफल, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।
त्यस्तै, कात्तिक २८ गते साँझ ७ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । कात्तिक २९ गते दिउँसो १ बजे नजिता प्रकाशन गरिने कार्यतालिका छ ।