बैतडी- बैतडीका ५ पालिकामा कोभिडविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टका अनुसार कार्तिक अन्तिम साता ५ ओटा पालिकामा कोभिड(१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो ।
जिल्लाको पुर्चौंडी नगरपालिका मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा भने तिहारअघि खोप अभियान सम्पन्न भइसकेको छ ।
पाटन नगरपालिका शिवनाथ गाउँपालिका, सिगास र डिलाशैनी गाउँपालिकामा कार्तिक २६, २७ गते र दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने बताइएको छ ।
कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन भएको जनाइएको छ ।