दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोला टोलका ६ जना किशोरीहरु चट्याङ लागेर घाइते भएका छन् । हिजो बेलुका बडालेख जङ्गलमा गाईवस्तु चराएर फर्किदै गर्दा हुलाकडाँडा टाकुरामा परेको चट्याङले उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा १६ वर्षीया तारा भन्ने सङ्गीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका भगवतीमाई गाउँपालिकाका–५ का कार्यवाहक वडाध्यक्ष भक्तबहादुर बिकले जानकारी दिनुभयो ।
उनीहरु एकै ठाउँ झुम्मिएर उभिएकै ठाउँमा चट्याङ परेको र एकैसाथ किशोरीहरु ढलेका थिए । पाँच जनाको उपचार दैलेख अस्पतालमा चलिरहेको छ भने गम्भीर घाइते सङ्गीता मगरलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ ।