धनगढी । महिला अधिकार महासन्धि छाया प्रतिवेदन तयारीका लागि प्रदेश स्तरीय छलफल तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) को आयोजना र युएन वुमनको आर्थिक सहयोगमा कार्यक्रम आज धनगढीमा सम्पन्न भएको हो । कार्यक्रममा महिला अधिकार महासन्धिमा भएका १६ वटा धारा सम्बन्धी छलफल गर्दै सुदूरपश्चिम महिला अधिकारका सवालमा भइरहेका कामका बारेमा सुझाव सङ्कलन गरिएको थियो ।
सिडो स्याडो रिपोर्ट प्रिपरेसन कमिटी एसआरपीसी संयोजनमा भएको कार्यक्रम सुदूरपश्चिमसँगै अन्य छ वटा प्रदेशमा पनि हुनेछ। कार्यक्रममा प्रदेश सभा सदस्य सन्तोषी शर्मा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश अधिवक्ता अनिता थपलियाले गर्नुभएको थियो। एफडब्लुएलडीका कार्यकारी निर्देशक सबिन श्रेष्ठले छाया प्रतिवेदन तयारीका चरणहरू त्यसमा सङ्कलन गर्नुपर्ने सुझाव र छलफलको प्रक्रिया र प्रतिवेदनको महत्त्वको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। प्रस्तुतिपछि समूह विभाजन गरेर १६ वटा धारामा समूहगत छलफलपछि सुझाव सङ्कलन र प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रम लाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोष शर्माले ठोस वैज्ञानिक र योजनाबद्ध कार्यक्रम बनाई महिला मुक्तिको लागि स्पष्ट मार्गचित्र बनाउनु पर्ने बताइन । उनले भनिन्, ‘समाजमा केही आमूल परिवर्तन गर्नको लागि र महिला मुक्तिको लागि ठोस वैज्ञानिक र योजनाबद्ध कार्यक्रम बनाएर हामी अगाडि बढ्नुपर्छ’ । पुरुष सँगसँगै काम गरिरहँदा कहिले हतोत्साहित बनाइदिने र शब्दहरूले होच्याउने त्यो प्रवृत्ति जता ततै रहेकाले महिलाहरू सक्षम भएर आफ्नो आवाजलाई बुलन्द पारि अधिकार सुनिश्चित गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।