काठमाडौँ- बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । शाहीलाई थप छानबिन गर्न तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।
उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ ।
ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् ।