ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनीमा चितुवा घुम्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । कान्तिपुर कोलोनीसँगै यस आसपासका क्षेत्रहरु लोहाचोक शोभाहिटी नख्खुडोल सुनाकोठीलगायतका ठाउँमा चितुवा घुम्न थालेपछि स्थानीय बासिन्दा हिँडडुल गर्न समेत डराउन थालेका छन् ।
एक महिनाभन्दा लामो समयदेखि यस क्षेत्रमा ४ वटा चितुवा देखा परेका स्थानीयबासिन्दाले बताएका छन् । चितुवाको त्रास बढेपछि वडा नम्बर १४ कार्यालयले सूचना निकालेर मर्निङ वाक र इभिनिङ वाक नगर्न स्थानीय बासिन्दालाई सचेत गराएको छ ।
चितुवाबारे डिभिजन वन कार्यालय ललितपुर र प्रहरीलाई जानकारी गराएको एक महिना भईसक्दा पनि चितुवा नियन्त्रण वा रोकथामका लागि सरोकारवाला निकायबाट प्रभावकारी पहल नभएको कान्तिपुर कोलोनी टोल विकास समितिका अध्यक्ष जितेन्द्र भण्डारीले बताउनुभयो ।
पछिल्लो समय बन क्षेत्र नजिक र केही शहरी क्षेत्रका मानव बस्तीमा चितुवा देखिन थालेका छन् । बाघ र चितुवा जस्ता वन्यजस्तु बस्ती पस्ने र घरपालुवा जनावर तथा मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । वर्खाको समयमा बन्यजस्तु बासस्थान छोडेर मानव बस्तीमा पस्ने जोखिम धेरै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट श्याम कुमार शाहले बताउनुभयो ।
उहाँले जोखिमयुक्त क्षेत्रमा अँध्यारोको समयमा एक्लै नहिँड्न, घर वरिपरि भएका झाडी सफा गर्न, कृषिजन्य फार्म घरभन्दा टाढा राख्न, घरपालुवा जनावरलाई भित्रै व्यवस्थित रुपमा राख्न र सकेसम्म बस्तीमा रातको बेला उज्यालो बनाउन सुझाव दिनुभएको छ ।