स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ । शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ । सुनको मूल्यलाई पछ्याउँदै आज प्रतितोला ३५ रुपैयाँले चाँदीको मूल्य बढेको महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आज चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५१३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९।३९ डलरमा कारोबार भइरहेको छ ।
विशेषगरी मध्यपूर्वमा संकट बढेसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालोमा छ । लगानीकर्ता अन्यभन्दा सुनतर्फ लगानी गर्न इच्छुक हुँदा अन्तराष्ट्रियरुपमै मूल्य बढेको हो ।
जसको प्रभाव स्वरुप स्थानीय बजारमा पनि मूल्य बढिरहेको हो ।
यद्यपि, मूल्यमा तिव्र उतारचढाव भएसँगै स्थानीय बजारमा सुनको किनबेच भने प्रभावित छ । महासंघका अनुसार मूल्य आकासिएसँगै खरिद–बिक्री धेरै न्यून भएको छ ।