धनगढी- अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन्,डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा।
ओझा चर्चामा आउनुको कारण हो। नगरपालिकाले आफूसँग भएको गाडी एम्बुलेन्स बनाउनु।
अमरगढीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा एम्बुलेन्स अभाव थियो। जसको असर यहाँका बिरामीले भोग्दै थिए।
कोभिडको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले आफूसँग भएका दुई वटा गाडी मध्ये एउटालाई एम्बुलेन्स बनाउने निर्णय गर्यो।
र, अहिले उक्त गाडीलाई एम्बुलेन्स बनाउन केही परिवर्तन गरिएको छ। बस्ने सिट हटाएर बिरामी सुत्ने र अक्सिजन राख्ने ठाउँ पनि बनाएर एम्बुलेन्समा परिणत गरी बिरामी बोक्न प्रयोग गरिएको छ।
नगरपालिकासँग भएको गाडी एम्बुलेन्स बनाइएको छ। तर, नगरपालिकासँग अझै मेयर चढ्ने गाडी छ।
नगरपालिकामा गाडी देख्ने जो कोहीको मनमा आशङ्का पैदा हुन्छ। अमरगढीले आफ्नो गाडीलाई एम्बुलेन्स बनाएको हो र ?
पक्कै पनि अमरगढीले आफूसँग भएका दुई वटा गाडी मध्ये एउटा गाडी एम्बुलेन्स बनाएको हो। नगरपालिकासँग मेयर र उपमेयर चढ्ने छुट्टाछुट्टै दुई वटा गाडी थिए।
मेयर चढ्ने गाडी नयाँ र उपमेयर चढ्ने गाडी पुरानो। एम्बुलेन्स अभाव भएपछि तत्काल खरिद गर्न समस्या हुने भएपछि नगरपालिका को एउटा गाडी एम्बुलेन्स बनाउनु पर्ने भयो।
मेयर चढ्ने गाडी नयाँ भएकोले मेयरले आफूले चढ्ने गाडी एम्बुलेन्स बनाउन आनाकानी गरेपछि नगर उपप्रमुख भण्डारीले आफू चढ्ने गाडी एम्बुलेन्स बनाउन सहमत भइन्।
तर, अधिकांश अनलाइन तथा पत्रपत्रिकाले नगरप्रमुख चढ्ने गाडी एम्बुलेन्स भनेर समाचार प्रकाशन तथा प्रसारण गरेपछि यहाँका स्थानीयले मेयर कि उपमेयरको गाडी एम्बुलेन्स भनेर प्रश्न गरिरहेका छन्।
स्वयम् मेयर ओझाले पनि आफूले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएको बताउँदै आएकोले पनि स्थानीयमा दुबिधा सिर्जना भएको हो। तर, मेयर चढ्ने गाडी नभएर उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको नगरपालिकाका कर्मचारी बताउँछन्।
उपमेयरले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएर मेयर ओझा आफू चर्चामा आउनका लागि आफू निकट अनलाइनमा आफूले चढ्ने गाडी एम्बुलेन्स बनाएको बताउँदै आएका छन्।