काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यक्रम रहेको जानकारी दिए ।
संघमा कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो । एमालेले सरकार छाडेपछि अल्पमतमा परेका महराले आज विश्वासको मत लिन लागेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन३÷३तीन, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा० र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका २÷२जना तथा नेकपा एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाका १÷१ सांसद छन् ।