धनगढी-श्रीमानले साथ छोड्नु भयो,उहाँ अहिले मसँग हुनुहुन्न,’उनले भनिन,‘उहाँले अर्को बिहे गर्नुभयो । सम्बन्ध विच्छेद भइसक्यो हाम्रो । मैले अंश पनि लिइसकेँ, छोरा–छोरी मेरै भागमा परे ।’
त्यसपछि उनले झनै ठुलो सपना देखिन् । कम लगानीको घरेलु उद्योगलाई बृहत् बनाउने उद्देश्य उनले लिएकी छिन् ।
उनी अर्थात् ‘धर्मा सिंह’ उमेरले ४० वर्ष पुगेकी धनगढी उप–महानगरपालिका ३ विशालनगरकी सिंहको परिचय त्यति मात्रै हैन । उनी उद्यमी महिलाका रूपले परिचित छिन् ।
आफ्नो व्यवसाय प्रवर्द्धन गर्न उनले कम मेहनत भने गरेकी छैनन् । कैलालीमा हुने मेला–महोत्सवमा उनी उद्योगको स्टल राख्ने गर्छिन् । उनीकहाँ सबैभन्दा ठुला डल ३ हजारसम्मका छन् । २० रुपैयाँदेखि तीन हजारसम्मका डलहरु छन् ।’,उनले भनिन, ‘तर मैले ३ हजारमा बेच्ने डललार्ई धनगढी बजारमै ५ हजारमा बेच्ने गरेका छन् ।’
मासिक रूपमा ४० हजारसम्म कारोबार गरी रहेकी उनी अहिले भने निकै समस्या खेपिरहेकी छिन् । एकातिर कोरोना कहरका कारण उद्योगका लागी आवश्यक सामाग्री ल्याउन सकिरहेकी छैनन् भने अर्का तिर उत्पादित चिज बस्तुले पनि बजार पाइरहेका छैनन् ।
अबको केही वर्षपछि छोरा–छोरीपछि पढाइ सकेर आफ्नै व्यवसाय गरिहाल्छन्।’ उनले भनिन्,‘मैले भने व्यवसाय छाड्दिनँ।’ मुसुक्क मुस्कुराउँदै उनले भनिन्,‘अहिले ४१ वर्षकी भएँ, अझै १० वर्ष त मज्जाले आफैँ मेहनत गर्न सकिहाल्छु नि ।’
‘नेपालीको आत्तिने बानी, छिटो प्रगति भएन, पैसा भएन छिटै उपलब्धि भएन भन्ने हुन्छ । तर मैले कहिले यस्तो सोचिँन, सङ्घर्ष गर्दै गए, अहिले सन्तुष्ट छु ।,’उनले भनिन् ।
यस्तो थियो विगत
१६ वर्षकै उमेरमा बिहे गरेकी धर्माको १७ वर्षमा छोरी भइन् । श्रीमानको कमाई केही नहुँदा बिहे गरेको केही समयमै घरपरिवार धान्ने सबै जिम्मेवारी उनले नै सम्हालिन् । ‘त्यसपछि आफैँ कमाउन थालेँ ।’ उनले भनिन्, अहिले छोराछोरीहरू ‘ब्याचलर लेबल’ पुगेका छन् । छोरो अहिले जापानका लागि अप्लाइ गरिरहेको छ । छोरी ‘ब्याचलर फोर एयर’ पढी रहेकी छन्, परीक्षा थियो ‘लकडाउनले’ रोकियो ।’
‘२०५२ साल माघमा बिहे हुँदा धर्मा १६ वर्षकी मात्रै थिइन् । ७ कक्षामा पढ्थिन् उनी । श्रीमानको मुख नै नहेरी बुवा–आमाकै रोजाइका मान्छेसँग बिहे गरिन् । माइतीमा निकै सुख सयलमा हुर्केकी उनी बिहेपछि भने घरको आर्थिक स्थिति न्यून भए पनि निकै समस्यामा परिन् । गरिब घरमा परियो’,उनले भनिन,’मेरो दाजु सरकारी जागिरे हुनुहुन्थ्यो । बुवा–आमाले घरमा काम गर्ने मान्छे पनि राख्नु भएको थियो ।’
‘कामदारहरूलाई एक सिङ्गो घर नै दिनु भएको थियो । तर आफू भने निकै न्यून स्थितिको परिवारमा परियो । श्रीमानले गाडी चलाउनु हुन्थ्यो । तर घरमा उहाँले कहिले पैसा दिनु भएन ।’
तराईमा हुर्केकी उनी बिहे गरेपछि पहाडी बिकट जिल्ला बझाङ झरिन् । तर त्यहाँ उकाली–ओराली गर्न नसकेपछि फेरी उनी तराइ झरिन् ।
श्रमले नै धनगढीमा घर–जग्गा
‘त्यसपछि २०५३ सालमा धनगढी चौराहामा किराना पसल थालिन् । त्यसको ४ वर्षपछि एक लाख १० हजारमा धनगढी विशालनगरमै तीन कठ्ठा जग्गाको घडेरी किनिन् ।
त्यसको दोस्रो वर्षमा उनले आफ्नै कमाइले घर निर्माण गरिन् । अनि उनले आफ्नै घरमा किराना पसल राखिन् । झन्डै १२ वर्ष आफ्नै घरमा किराना पसल सञ्चालन गरिन । छोरा–छोरी सानै थिए, उनले भनिन्, ‘यही किराना पसलबाट मैले धनगढीमा घडेरी किनेर घर लगाएँ । किराना पसलबाटै छोरा–छोरीलाई स्कुल पढाएँ ।’
श्रीमानले घर व्यवहार धान्न कहिले सहयोग गरेनन् । त्यसपछि त श्रीमानले बसको जागिर पनि छोडे, राजनीति कता–कता अल्झिए । उनले भनिन,म आफैँले धनगढीमा घर–जग्गा जोडेर छोरा हुर्काए, ‘ब्याचलर’सम्म पढाएँ ।’
किरानापछि घरेलु उद्योग
’श्रीमानले भएको जमिन पनि बचेर गाडी किने । किराना पसल छोडेर उनी छोरा–छोरीलाई उच्च शिक्षा पढाउन श्रीमानसहित काठमाडौँ गइन । ‘छोरी कलेज जान्थिन ’ म त्यहाँ पनि त्यत्तिकै बसिन एउटा बुटिकमा काम गर्थे’,उनले भनिन्,‘त्यहाँ पनि मैले महिनाको ९र १० हजार कमाउँथे । छोरीले त्यतिखेर १२ पास गरिन् ।’
काठमाण्डौमा भूकम्प गयो । श्रीमानको कमाइ नहुँदा महँगीले काठमाण्डौँमा टिक्न सकेनांै । त्यसपछि छोरीलाई सहरमा एक्लै छोड्न मन लागेन, अनि सँगै धनगढी ल्याएँ,’उनले भनिन् ।
काठमाडौँ हुँदा उनले बुटिक सम्बन्धी सिप सिक्न पाइन् । छोरीले पनि डिजाइनरको तालिम लिइन् । ‘म पनि सानैदेखि सिपकलातिर मेरो ध्यान धेरै थियो’,उनले भनिन्,’केही देखेपछि सिकिहाल्ने, कसैले सिकाउनै नपर्ने । सबै आउँछ, मलाइ रुमाल बुन्ने देखी बुटिक बनाउनसम्म ।’
छोरीले पनि केही महिना तालिम लिएपछि मलाइ सहयोग गरिन् । त्यसपछि उनले घरेलु उद्योग दर्ता गरिन् । छोरीकै नामबाट उद्योगको नाम राखेर चलाउन थालिन् ।
‘आफ्नै घरमा उनले अहिले गायत्री डल कुसन गिफ्ट उद्योग सञ्चालन गरिरहेकी छिन्। आफूसँग भएको गर–गहना बैङ्कमा राखेर उनले ५० हजारबाट उनले उद्योग सञ्चालन गरिन् । गुडिया, डल बनाउन सिपालु उनले त्यसबाट मासिक ४० हजार आम्दानी गर्न थालिन् ।
त्यसको केही समयमै बैङ्कमा राखेका गर–गहनाहरुहरु पनि फिर्ता लिइन् । कारोबार राम्रो हुँदै गएपछि २ लाखको ‘स्कुटर’ किनिन्, आफ्ना लागि सिक्री किनिन् । छोरालाई काठमाडौँ पढाइरहेकी छिन् । छोरीको कलेज फि पनि तिरिरहेकै छिन् ।
मासिक ४० हजार आम्दानी, गृहिणी महिलालाई रोजगारी
छोरीको नामबाट सञ्चालन गरिरहेको उद्योगबाट उनले मासिक ४० हजार बढी मात्रै आम्दानी गरिरहेकी छैनन् । इच्छुक महिलाहरूलाई आफूले सिकेको सिप सिकाइ पनि रहेकी छिन ।
‘दैनिक जसो किन्न आउने ग्राहकहरू सिक्न खोज्छन्, अनि मैले कोर्सको ३ हजारका दरले लिने पनि गरेकी छु ।’ उनले भनिन,अहिले एक महिलालाई मासिक १८ हजारका दरले रोजगारी पनि दिइरहेकी छु ।’
उनी आफैँले विभिन्न खाले डल, गुडिया, कोठामा डेकोरेसन गर्ने कुसनहरू, सिरानी लगायतका चिजहरू आफैँ बनाउने गरेकी छिन् । मेहनत त धेरै हुन्छ नि’,उनले भनिन,‘कैँचीले काट्नुपर्छ, जम्मा भुवाहरू मुखमा उड्छ । आँखा,नाक भित्र गए त निकै गाह्रो हुन्छ । एउटा डल बनाउन पनि तीन चार घण्टा लाग्छ ।’
ठुलो कारखानामा त मेसिन हुन्छ, तर उनको त सानो उद्योग हो । सबै हातले बनाउँदा गाह्रो हुने उनले सुनाइन् ।